ट्रम्पले पुटिनलाई दिन लागेको ‘नयाँ उपहार’

ट्रम्पले पुटिनलाई दिन लागेको ‘नयाँ उपहार’

राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेयता डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत सहयोगी मुलुकसँगका सम्बन्धलाई एकपछि अर्को गर्दै लुलो पार्ने काम गरेका छन्।

यसै साता यस्तै एउटा बहुलठ्ठी कदम उठाउँदै जर्मनीबाट करिब १२ हजार अमेरिका सेना फिर्ता गर्ने घोषणा गरे। 

जर्मनीका ऐतिहासिक सहर, खेत खलियान र घना जंगलमा तैनाथ गरिएको यी सेनाले झन्डै ७० वर्षयता युरोपमा शान्ति र स्थिरतानिम्ति मदत गरेको अमेरिकी बुझाइ छ। यसलाई पूर्व शत्रु मुलुक अमेरिका र जर्मनीबीचको कहिल्यै युद्ध नगर्ने प्रतिबद्धताको धितो समेत मानिन्छ। 

आउने वर्ष ट्रम्प पुनर्निवाचित भएमा जर्मनी र अमेरिकाबीचको यो सम्बन्ध फेरि धरापमा पर्न सक्छ। उनको यो घोषणा जर्मनीलाई सजाय दिने नियतबाट निर्देशित भएको बताइन्छ। सोही मनसायमा उनले लगातार टि्वटसमेत गरेका छन्। 

‘जर्मनीले उर्जाका लागि बर्सेनि अर्बौं डलर रसिया पठाउँछ अनि हामीचाहिँ रसियाबाटै उनीहरूलाई जोगाएर बस्नुपरेको छ। यो सब के हो?,’ उनले एउटा पोस्टमा लेखेका छन्। 

‘जर्मनीले नाटोका लागि २ प्रतिशत मात्रै शुल्क तिर्छ। त्यसकारण हामी पनि जर्मनीबाट सेना हटाउँदै छौं,’ उनले अर्को टिवट् गरेका छन्। 
ट्रम्पका गैरकूटनीतिक ट्विटहरू रातको समय एकैछिनमा भर्रर निस्केका हुन्। उनी विवादास्पद टि्वटहरू प्रायः मध्यरातमा गर्छन्।

तर जुनसुकै विषयमा यसरी टाइम कुटाइम अभिव्यक्ति दिँदा त्यसले अमेरिकी कूटनीतिमा पर्ने असरलाई लिएर उनी गम्भीर भएको पाइँदैन।

पछिल्ला दिनमा आफ्ना अभिव्यक्ति र व्यक्तित्वकै कारण लोकप्रियता खस्केको भन्दै उनले चिन्ता व्यक्त गरेको समाचार पनि प्रकाशमा आएका छन्। तर त्यसको शोधभर्नामा उनी फेरि उग्र अभिव्यक्तितिरै लागेको पछिल्ला टिवट्बाट पुष्टि भएको छ। 

जर्मन अधिकारीहरूले यस्ता अभिव्यक्तिले दुई देशबीचको सैन्य गठबन्धनलाई नराम्रो असर पुर्याउने चिन्ता व्यक्त गरेका छन्। 
जर्मन संसदको वैदेशिक सम्बन्ध कमिटीका प्रमुख नोबर्ट रोटजेनले बुधबार भनेका छन्, ‘नाटोलाई बलियो पार्नुका सट्टा अमेरिकाले गठबन्धन कमजोर पार्ने काम गर्दैछ।’

यसैबीच जर्मनीबाट सेना फिर्ता ल्याउने ट्रम्पको निर्णयलाई ‘पुटिनका लागि उपहार’ को उपमा दिइएको छ। बाभारियाका गभर्नर मार्कुस सोडरले भनेका छन्, ‘यसले अन्ततः द्विपक्षीय सम्बन्धलाई गम्भीर क्षति पुर्याउने छ। यसले अमेरिका आफैं कमजोर हुनेछ। नाटो शिथिल हुनेछ।’

-अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.