क्वाँटी पुन्हीमा भ्यागुतोलाई भोज

क्वाँटी पुन्हीमा भ्यागुतोलाई भोज

गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछ। यसलाई नेपाली भाषामा जनैपूर्णिमा र रक्षाबन्धनसहित यो पर्व मनाउन्छन्। गुन्हीपुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो। साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ।

क्वाँटी पुन्ही भनेसँगै क्वाँटी बनाएर आफूमात्रै खाने होला भन्ने सम्झिन्छ। तर भक्तपुरमा भने क्वाँटी आफूले मात्र नखाई भ्यागुतोलाई समेत खुवाउने परम्परा चलिआएको छ।

यही क्रममा भक्तपुरका किसानले सोमबार आ–आफ्नो खेतसम्म पुगेर भ्यागुतोलाई आफ्नो पाकेका सबै परिवार खुवाएका छन्। धेरै ठाउँमा खेतबारी हुनेहरूले पनि सबैतिरको खेतसम्मै पुगेर भ्यागुतोलाई खाना खुवाएका हुन्। परिवारका कम्तीमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतोलाई खाना खुवाएका हुन्। धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्।

यसलाई स्थानीय किसानहरू नेपाल भाषामा ब्याँचा जानक वानेगू अर्थात् भ्यागुतोलाई खाना खुवाउन जाने भनेर भन्छन्, जहाँं ब्याँचाको अर्थ भ्यागुतो र जानक वानेगूको अर्थ खाना खुवाउन जाने भन्ने बुझिन्छ। सोमबार बिहानैदेखि आ–आफनो खेतमा पुगेर भ्यागुतोलाई परिकार खुवाउन जाने किसानहरू जताततै भेटिए। एकाबिहानै किसानहरू आफ्ना खेतका भ्यागुतालाई खाना ख्वाउन हिँडेका थिए। 

बिहानै सूर्यविनायकस्थित आर्दशमा भ्यागुतोलाई खाना खुवाउन पुगेकी सुशीला खाइतुले परम्पराअनुसार प्रत्येक वर्षजस्तै खेतका भ्यागुतोलाई भोज खुवाउने हिँडेको बताइन्। 

परम्पराअनुसार खेतमा पुगेर भ्यागुतोलाई परिकार खेतमा छाड्ने चलन छ। भ्यागुतोको भोजको परिकारलाई पातमा राखेर आआफनो खेतको आलीमा छोडेर आउने परम्परा छ। पहिला मोटरसाइकल नहुने बेला हिडेरै पनि सबै ठाउँमा भ्यागुतोलाई भोज खुवाउने जाने गरेको उनले सुनाए। त्यसबेला त आधि दिन त भ्यागुतोलाई भोज खुवाउन जान मै दिन वित्थ्यो उनले भनिन्।

भोजका परिकारका रुपमा किसानले क्वाती, फलफूल, चामलको भात, सुपारीललगायतका खाद्य सामाग्री राखेका हुन्छन्। खाद्यान्नकासाथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ। ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ। ऐना मुला काटेर सिन्का घाेपेर तयार पारिन्छ। 

भ्यागुतालाई भोज राख्न जाने क्रमम खुवाउन जाने किसानले पनि त्यही आफूले पनि भोज खाएर आउनुपर्छ भन्ने चलन रहेको छ। यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाँटीसहितको परिकार लिएर जाने चलन अझैसम्म जस्ताको तस्तै छ। 

संस्कृतिविद् ओम धौभडेलले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाउँंछन्। आफनो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एकपल्ट भोज खुवाउने परम्परा जस्ताको तस्तै रहेको इतिहासविद् धौभडेलले बताए । ‘भ्यागुतालाई नखुवाई घरका कसैले पनि क्वाँटी खाँदैनन्,’ उनले भने। 

वर्षा गराउने दूत तथा प्राकृतिक देवताको प्रतीकका रूपमा भ्यागुतोलाई लिने उनले बताए । त्यसैले अहिले पनि भ्यागुतोलाई सबैभन्दा पहिले खुवाउने चलन चलिआएको छ।


Leave a Reply

Your email address will not be published.