झापामा आजदेखि नमूना परीक्षण सुरु 

झापामा आजदेखि नमूना परीक्षण सुरु 

झापाको भद्रपुरस्थित  मेची प्रादेशिक अस्पतालमा साेमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण हुने भएको छ। बुधबारदेखि नियमित पिसिआर परीक्षण गर्ने गरी आजदेखि नमूना परीक्षण गर्न लागिएको हो।

आज र भोलि दुई दिन नमूना परीक्षण गरेपछि नियमित परीक्षण सुरु गर्ने  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर  ठाकुरले बताए। ‘आज र भोलि नमूना परीक्षण गर्छौ’ उनले भने, ‘त्यसलाई क्रस भेरिफिकेसनका लागि विराटनगर पठाउँछौ, रिपोर्ट ठीक देखियो भने नियमित परीक्षण थाल्छौं।’

मेचीमा पिसिआर ल्याब सन्चालनको जिम्मेवारी जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले पाएका छन्। उनले मेसिन जडान, कर्मचारीलगायतका व्यवस्थापकीय काम केही दिनअघि नै तयारी गरिसकेको जानकारी दिए। त्यस्तै कनकाई नगरपालिका ३ को कोटिहोममा पिसिआर ल्याब सन्चालन हुन अझै केही दिन लाग्ने भएको छ।

संघीय सरकारमातहतको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति ल्याउनै पर्ने भएकाले  सन्चालन गर्न समय लाग्ने भएको हो।
सरकारी अस्पताल मेची भद्रपुरमातहतमा सन्चालन हुनेगरी अनुमति लिने प्रक्रिया अघि बढाइएको छ।

जिल्ला समन्वय समितिको रोहबरमा स्वास्थ्य मन्त्रालयमा अनुमतिका लागि पत्र पठाउन लागिएको पिसिआर ल्याब स्थापनाको अगुवाइ गरिरहेको 'एकका लागि एक'  अभियानका सहसंयोजक विनोफ बस्नेतले बताए। 

आज प्रदेश १ मा सार्वजनिक बिदा भएकाले  भोलि पत्र पठाउने तयारी भइरहेको छ। स्वास्थ्य मन्त्रालयबाट अनुमति आउन करिब एक साता समय लाग्ने अनुमान गरिएको छ। 

दुवै पिसिआर ल्याब एउटै क्षमताका छन्। एक लटमा ९६ वटा परीक्षण गर्न सकिने जनाइएको छ।


Leave a Reply

Your email address will not be published.