प्रहरीले चोर्नेहरूलाई खसीसहित पक्राउ गरेपछि…
कोरोना भाइरसको संक्रमणबाट आर्थिक अवस्था गुज्रेपछि समाजमा विभिन्न किसिमका अपराध बढ्दो छ।
यसक्रममा शनिबार धरानमा चरनबाटै दुई वटा खसी चोरी भए।
धरान-१३ का आशबहादुर गुरुङका दुई खसी चरनबाटै गायब भएका थिए। खसी चोरी भएको हुनसक्ने ठानेर गुरुङले प्रहरीमा गुनासो पुर्याइहाले।
वडा नम्बर २० स्थित बिपी पार्क नजिक सडकमा प्रहरीले आकस्मिक चेक प्वाइन्ट खडा गर्यो। टेम्पोमा हालेर ल्याउँदै गरिएका दुवै खसी प्रहरीले भेट्टायो। चोरीमा संलग्न चार जनालाई प्रहरीले रंगेहात समात्यो।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ का १९ वर्षीय रोशन पराजुली, सुन्दरहरैंचा-७ कल्याण टोलका २९ वर्षीय डम्बरबहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका-९ का २० वर्षीय विशाल गुरूङ र ताप्लेजुङ वाखो खोपातालका ३२ वर्षीय विवेक तामाङ छन्।
उनीहरूलाई आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिन हिरासतमा थुन्ने अनुमति लिएर चोरी मुद्दामा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।