नेकपामा सहमति जुटेन, ओली–प्रचण्ड आ-आफ्नै अडानमा 

नेकपामा सहमति जुटेन, ओली–प्रचण्ड आ-आफ्नै अडानमा 

पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रचण्ड-ओलीको सोमबारको बैठकबाट पनि कुनै ठोस निस्कर्ष निस्केको छैन।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्थायी कमिटी बैठकबाटै समाधान खोज्नुपर्ने अडानमा देखिएका छन् भने पहिलो बरियताका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकबाटै समाधान खोज्नुपर्ने अडानमा छन्। 

बैठकमा प्रधानमन्त्री ओलीले हाल उत्पन्न पार्टीको गतिरोध समाधानका लागि सचिवालय बैठक नै गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ। आइतबार बसेको बैठक निस्कर्षविहीन टुंगिएपछि सोमबार पुनः बैठक बसेको हो। सोमबारको बैठमा पनि वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए। 

सचिवालयमा आफ्नो बहुमत देखेका प्रधानमन्त्री ओलीले आइतबारको बैठकमा पनि सचिवालय बैठकबाटै निकास खोज्नुपर्ने प्रस्ताव राखेका थिए। अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने जवाफ दिएका छन्।

सोमबारको बैठकमा लामो छलफल भए पनि विवाद समाधानका लागि बाटो खोज्नेतर्फ कुनै ठोस निस्कर्ष ननिस्केको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा(जुगल)ले जानकारी दिए।

स्थायी कमिटी बैठक स्थगित र उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्तावपछि पार्टीको विवादले नयाँ रुप लिएको हो। पार्टी एकता भंग हुने भन्दै तीव्र आलोचना हुन थालेपछि कार्यकारी अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीसँग परामर्श गरी स्थायी कमिटी बैठक बसाल्ने जिम्मेवारी आफैं लिएका हुन्। 

अहिले पनि दुई अध्यक्षको भेटमा सचिवालय बैठक गर्ने कि स्थायी कमिटी बैठक गर्ने भन्नेमै विवाद अड्किएको छ। साउन १३ गते डाकिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले स्थगित गरेपछि प्रचण्डले बहुमत सदस्यहरुको उपस्थितिमा बैठक राखेका थिए।

दुई आमन्त्रितसहति २९ जना स्थायी कमिटी सदस्य उपस्थित बैठकले ओलीसँग परामर्श गरी विवाद समाधानका लागि स्थायी कमिटी बैठक बसाल्ने वातावरण बनाउने जिम्म अध्यक्ष प्रचण्डलाई नै दिएको थियो। 

सोमबारको बैठकबाट कुनै निस्कर्ष ननिस्केपछि निकास निकाल्न पुनः मंगलबार दुई अध्यक्षबीच छलफल हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published.