नवनियुक्त राखेप सदस्यसचिव सिलवालले भने- ‘विश्वास टुट्न दिन्न’

नवनियुक्त राखेप सदस्यसचिव सिलवालले भने- ‘विश्वास टुट्न दिन्न’

नेपाल भलिबल संघको स्वागत तथा सम्मान थाप्दै सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जुन विश्वासका साथ जिम्मेवारी दिइएको हो त्यसलाई कहिले टुट्न नदिने प्रतिवद्धता जनाएका छन्।

सदस्य–सचिव सिलवालले खेलकुदको विकासका लागि आफूलाई जुन विश्वाससाथ नियुक्ति गरिएको हो, त्यो इमानदार भएर पूरा गर्ने बताए। 

सिलवालले नेपालको राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल नहुनु दुःखको कुरा भएको सुनाए। 

उनले त्यसका लागि पहल सुरु भइसकेको बताउँदै भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाए।

उनले भने, ‘अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन मैले कुनै कसर बाँकी राख्ने छैन।’

सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि संघले स्वागत र बधाई ज्ञापन गरेको थियो।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले राखेपका बोर्ड सदस्यको पूर्ण सफलताका लागि कामना गरे ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन्।

नेपाल ब्याडमिन्टन संघको सोमबार बधाई तथा स्वागत ग्रहण गर्दै श्रेष्ठले श्रेष्ठले चारवर्षे कार्यकाल खेलकुद र खेलाडीको हितमा उदाहरणीय बनाउने अठोट जनाए । 

नेपाल ब्याडमिन्टन संघले राखेप सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको हो। श्रेष्ठ ब्याडमिन्टनका उपाध्यक्ष हुन्।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने व्यक्तित्व राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताए। 


Leave a Reply

Your email address will not be published.