जात्रामात्राको ‘न्यु नर्मल’

जात्रामात्राको ‘न्यु नर्मल’

विश्वभर कोभिड-१९ को महामारी खुलेसँगै अब ‘न्यु नर्मल’ अर्थात् नवसामान्यको अभ्यास अवलम्बन गर्न हामी सबै लागेका छौं। अनिश्चिततासँग जुध्न केही समय कडा लकडाउन (बन्दाबन्दी) को अवस्था पार गरेर यो ‘न्यु नर्मल’ अवलम्बन गर्न हामी बाध्य भएका हौं। जीवन सामान्यतर्फ उन्मुख हुँदै गर्दा पहिलेजस्तो नभएकाले यसलाई ‘न्यु नर्मल’ भनिएको हो। सांस्कृतिक क्रियाकलाप पनि यसरी ‘न्यु नर्मल’ अभ्यासबीच गर्नुपर्ने परिस्थिति आइपरेको हो। 

अहिले जात्रामात्राको ‘सिजन’ चलेको छ। नेपाल संवत्अनुसार चलिरहेको गुँला महिनाभर विभिन्न सांस्कृतिक क्रियाकलापमा काठमाडौं उपत्यका रमेको छ भने विभिन्न समुदायले आ–आफ्ना चाडपर्व हर्षोल्लासका साथ मनाउँदै छन्।

गत र यस साताभरको सांस्कृतिक व्यस्ततामा चाँगुनारायणको कलश जात्रा, पशुपतिमा पवित्रारोहण उत्सव, मुस्लिम समुदायको ईद–उल-अजा, जनै पूर्णिमा, उपाकर्म संस्कार, पूर्णिमासम्वद्ध मेलापर्व, तराई–मधेसमा राखी परम्परा, किराँत वाम्वुले राईहरूको ढ्वाडकुम पूजा, गाईजात्रा, कृष्णयात्रा, रोपाइँ जात्रा, उपाकलं साया वा नरसिंह यात्रा आदि परेका छन्। 

लकडाउनपछि यी जात्रामात्राले स्थिति सामान्यझैं भान दिलाए पनि हामी अहिले ‘न्यु नर्मल’को अवस्थामा छौं।

भीड नभई जात्रामात्रा रोमाञ्चक नहुने भन्नेहरू होलान् तर हामी ‘नर्मल’ अवस्थामा अहिले छैनौं। यो अवस्था ‘न्यु नर्मल’ हो। यसलाई सहज स्वीकार्नु आवश्यक छ। आखिर संस्कृतिको एउटा महत्त्वपूर्ण पक्ष भनेको परिवर्तनशीलता पनि हो।

‘नर्मल’ र ‘न्यु नर्मल’बीच कोभिड-१९ को महामारी छ। हुन त अद्यापि यस महामारीले थप विशाल रूप लिँदै छ र विश्वका प्रायः सबै देशहरू यसबाट प्रभावित छन्। 

विश्वलाई गतिशील पार्न अवलम्बन गरिएको यो ‘न्यु नर्मल’ अभ्यासलाई सबै सामाजिक–सांस्कृतिक गतिविधिमा उतार्नुको विकल्प नहोला।

‘न्यु नर्मल’ अभ्यास

प्रायः भीड हुने जात्रापर्वमा आवश्यक दूरी कायम राख्ने, अनावश्यक भीड नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, मास्क अनिवार्य लगाउने आदि ‘न्यु नर्मल’ अभ्यास हुन्। 

हुन त भीड नभई जात्रामात्रा रोमाञ्चक नहुने भन्नेहरू होलान् तर हामी ‘नर्मल’ (सामान्य) अवस्थामा अहिले छैनौं, यो अवस्था ‘न्यु नर्मल’ हो र यसलाई सहज स्वीकार्नु आवश्यक छ। 

आखिर संस्कृतिको एउटा महत्त्वपूर्ण पक्ष भनेको परिवर्तनशीलता पनि हो। 

रातो मत्स्येन्द्रनाथ (करुणामय)को जात्रा पाटनको सबैभन्दा भीड हुने जात्रा हो। पटक–पटकको छलफलपछि करुणामयको रथारोहण भएको छ भने जात्रा अझै अनिश्चित छ। रथयात्रामा भीड हुन नदिन आवश्यक ‘न्यु नर्मल’ अभ्यासबारे सम्बन्धित सरोकारवाला पक्ष सबैसँग बसेर छलफल गरी सो अभ्यास अवलम्बन गर्नु नितान्त आवश्यक छ। परम्पराअनुसार यो यात्रा ढिलो भइसके पनि संस्कृतिलाई निरन्तरता दिने प्रयास जारी छ र दवाब उत्तिकै छ। 

अन्यत्रका उत्कृष्ट अभ्यासबाट पनि सिकेर त्यसलाई गुठी संस्थानले जात्रा चलाउने सरोकारवाला पक्षसँग छलफल गरी ‘न्यु नर्मल’ तरिकाले जात्रा चलाउन सकिन्छ। 

अर्को ‘न्यु नर्मल’ तरिका हो, जात्रामात्रा छोट्याउने र आवश्यक पूजामात्र गर्ने। धार्मिक स्थलहरू सर्वसाधारणका लागि बन्द गरेर आवश्यक पूजा मात्रैले छोट्याइएका विभिन्न पर्व पूजाका उदाहरण हामीसँगै छ। बज्रयोगिनीको जात्रामा मन्दिरभित्र आवश्यक पूजामात्र, भक्तपुरको बिस्काः जात्रामा पनि आवश्यक पूजामात्र गरिएका उदाहरण छन्। राजाज्ञा हुँदा जात्रापर्व तथा संस्कृति रोकिने वा परिवर्तन पहिलेदेखि नै हुने गरेका छन् र यो त झन् विश्वभरका मानवका लागि संकट हो। 

यो महामारीमा यसै पनि भव्य तरिकाले जात्रापर्व मनाउने बेला होइन। अहिलेको आवश्यकता हो, सकेसम्म यस महामारी नियन्त्रण गर्ने तथा यसका लागि यथासक्य उपायहरू अवलम्बन गर्ने।

महामारीको समय यसै पनि भव्य तरिकाले जात्रापर्व मनाउने बेला होइन। अहिले आवश्यक छ, सकेसम्म यस महामारीलाई नियन्त्रण गर्ने तथा यसका लागि यथासक्य उपायहरू अवलम्बन गर्ने। कतिपय जात्रापर्व यस्तो समयलाई मध्यनजर गर्दै बन्द गरिएका पनि छन्।

आफन्त, साथीभाइ भेटघाट पनि प्रत्यक्ष नभई प्रविधिसापेक्ष भएका छन्। जात्रापर्वका अवसरका अन्य सामाजिक कार्यक्रम पनि न्यून भएका छन्। हुन त लकडाउन खुलेसँगै केही सामाजिक भेटघाटमा वृद्धि भए पनि आवश्यक सतर्कताको महत्त्व सबैले बुझेकै होलान्। 

यही सतर्कता जात्रापर्वमा पनि आवश्यक छ र यही ‘न्यु नर्मल’ अभ्यास हो। बिरामी भए आफै ‘आइसोलेसन’मा बस्ने वा आवश्यक स्वास्थ्य (सामाजिक) सावधानी अपनाउनु ‘न्यु नर्मल’ मानवता हो। कोरोना संक्रमणको शंका लागेमा वा बिरामी भएमा आफू ‘भाइरस क्यारियर’का रूपमा फैलाउन नदिने व्यक्ति ‘न्यु नर्मल हिरो’ हो। 

आफूलाई संक्रमण होला भन्ने मात्र होइन, आफ्नो कारण अरूलाई पनि संक्रमण होला भनी आवश्यक सावधानी अपनाउनु ‘न्यु नर्मल’ आवश्यकता हो। 

उपसंहार

जात्रामात्रा संक्रमण विस्तारको सम्भाव्यस्थल बन्न सक्छ। जात्रामात्राको उद्देश्य सबैको हितका लागि हो, त्यसैले जोसमा मानवीय संकट बढाउनु कदापि उचित हुँदैन। कुनै नाममा पनि महामारीको ख्याल नगरी बृहत्तर मानव स्वास्थ्यलाई संकटोन्मुख बनाउनु बुद्धिमानी होइन। जात्रा मनाऔं तर यस्तो बेला कम्तीमा मानवीय हित ख्याल गरौं। ‘न्यु नर्मल’लाई स्वीकार गरौं र यसका अभ्यास सबैको कल्याणका लागि अवलम्बन गरौं।


Leave a Reply

Your email address will not be published.