‘सुपरस्टार’ भुवन केसीको फिल्मी काइदा- ‘फकाउने, असुल्ने अनि छक्याउँदै फिल्म बनाउने’
भुवन केसीसँग ‘ड्रिम्स’को कुरा भएपछि रवि बस्नेतले एउटा अर्को ‘ड्रिम’ हुर्काएका थिए, ‘त्यसअघि डुबेका तीन फिल्मको लगानी यसैबाट उठ्नेछ।’
उसै पनि भुवन ‘सुपरस्टार’ पो त।
तर, आधाजति पैसा लगानी गरेपछि रविलाई भुवनले नराम्रोसँग ‘डुबाए’।
रवि एक कलाकार अनि फिल्म निर्माता पनि हुन् फिल्ममा आफैं पैसा लगाउने र अभिनय पनि गर्ने।
‘ड्रिम्स’ मा डुब्नुअघि रविले ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘घातक’ र एउटा भोजपुरी सिनेमा ‘जिना मर्ना तेरेसँग’ बनाएका थिए। ती फिल्ममा उनी आफैं पनि अभिनय गरे।
यी तिनै फिल्ममा उनको लगानी डुबिरहेको थियो।
त्यतिकैमा भुवन केसी ‘ड्रिम्स’ लिएर रविकहाँ आए। रविले सोचेका थिए, ‘ड्रिम्स’ले अघिल्ला तीन फिल्मको पनि लगानी उठाउने छ।
तर, भुवनले यसरी पछारिदिए कि, न उनी ‘ड्रिम्स’ मा आए न उनको ‘ड्रिम’ पूरा भो।
बरु रवि अहिले भुवन केसीसँग फँसेको पैसा कसरी निकाल्ने भन्ने तनावमा झनै डुबेका छन्। र, त्यसमै चक्कर काटिरहेका छन्, 'रविले भुवन' लाई चक्कर लगाएजस्तै, उल्टाेगरी।
भुवनसँग यसरी बल्झिए रवि
रवि फिल्म निर्माता र कलाकारमात्रै होइनन्, उनी एक विज्ञापन निर्माता पनि हुन्। विज्ञापन एजेन्सीका रूपमा पनि उनले काम गर्छन्।
त्यतिकैमा उनले ‘क्याल ग्रुप अफ नेपाल’ का उत्पादनलाई ब्रान्डिङ गर्ने काम पाए। यो व्यापारिक ग्रुपका मालिक हुन्, सत्यनारायण क्याल।
क्यालले भुवन केसीलाई ब्रान्ड एम्बास्डर बनाउने प्रस्ताव गरे। रवि आफैं पनि कलाकार, फिल्मी क्षेत्रको मान्छे। भुवनलाई सजिलै सम्पर्कमा ल्याइदिए।
क्याल ग्रुपले उत्पादन गर्ने आरती सिमेन्ट तथा नारायणी टिएमटी छडका लागि भुवन ‘ब्राण्ड एम्बास्डर’ का रूपमा अनुबन्धित भए।
सम्बन्ध यसैगरी अघि बढ्दै थियो।
त्यतिकैमा भुवन केसी ‘ड्रिम्स’ को प्रस्ताव लिएर आए।
अरु व्यापारमा जमिसकेका क्याललाई पनि केही लाख त्यो फिल्ममा लगाउन खासै धेरै सोच्नुपर्ने थिएन। क्यालले रविको भरमा भुवन केसीमाथि पैसा लगानी गर्ने भए।
भुवनलाई के चाहियो र? ड्रिम्स त त्यतिकै साकार हुने भो।
भुवन केसीकै फिल्मी ब्यानर ‘काजल फिल्मस् प्रा.लि.’मा तिनैजनाले पैसा लगाउने भए। काजल फिल्मस् प्रा.लि.को एउटा लेटरप्याडमा तीनैजनालाई ३३.३३ प्रतिशत (बराबर) पैसा लगाउने सम्झौता भयो।
भुवन केसी, सत्यनारायण क्याल अनि रवि बस्नेतले त्यो ‘ड्रिम्स’ का लागि हस्ताक्षर गरे। त्यो २०७१ वैशाख १८ गतेको दिन थियो।
तीनैजनाको हस्ताक्षर चल्नेगरी भिवोर बैंकमा ००१००७७२१७ नम्बरको खाता पनि खुल्यो।
केही समय यही खाताबाट तीनैजनाले हस्ताक्षर गरेर पैसाको कारोबार पनि सुरु भयो।
फिल्मका ‘हिरो’ अलरेडी फिक्स थिए भुवनकै छोरा ‘अनमोल केसी।’
‘साम्राज्ञी राज्यलक्ष्मी शाह’ हिरोइन छानिइन्। उनै साम्रज्ञी जो अहिले भुवनसँगको ‘लफडा’ मा फसिरहेकी छिन्।
त्यसपछि फिल्मको तयारी अघि बढ्यो।
भुवनको लुकाछिपी
सुटिङ ठीकठाक चल्दै थियो। जोमसोम, मुस्ताङपछि ४५औं दिन सुटिङ टिम पोखरामा थियो।
भुवन केसी ‘सिनियर’ मात्रै हुन् नत्र, ‘ड्रिम्स’ मा लगानी यी तीनैजनाको बराबरी हो।
सम्झौताअनुसार त्यसमा सरसल्लाह, निर्णय, अधिकार सबै बराबर हुन्छ।
त्यसअघि भुवनका धेरै फिल्म ‘काजल फिल्मस्’ कै ब्यानरमा छन्, ड्रिम्स पनि पहिला त त्यसैमा लेखियो। काजल भुवनकी छोरीको नाम हो।
पोखरा सुटिङको ४५औं दिनसम्म पुगिसक्दा भुवनले भित्रभित्रै अर्को दर्ता गरिसकेछन्– ‘सुपर काजल फिल्मस् प्रा.लि.’। तर, यसमा उनले चलाखी के गरे भने त्यो ‘सुपर’ भन्ने शब्दलाई ‘काजल’ माथि सानो पारेर राखिदिए।
क्यालले यो कुरा कतैबाट थाहा पाएर रविलाई सोधे, रविले भुवनलाई सोधे। भुवनले सजिलै भनिदिए ‘केही हुन्न, एउटै हो। केही फरक पर्दैन।’
‘मैले त्यो बेला यस्तो त भएन, प्रा.लि. एउटा छ, अनि काम अर्कैबाट भइरहेको छ। पछि गाह्रो हुन्छ,’ रविले धेरैपटक भुवनलाई भनेका थिए, ‘खर्च, कारोबार सबै एउटै (काजल प्रा.लि.) बाटै गरौं।’
तर, भुवनले टार्दै गए।
रविलाई झट्का लाग्यो।
भुवनले भित्रभित्रै कसैसँग पैसा ल्याइसकेका रहेछन्।
रविको घर वीरगन्जमा पनि छ। फिल्म सुटिङ छोडेर उनी केही दिन वीरगन्ज पनि बसेका थिए। त्यो बेला भुवनले जहिलै पैसा पठाउन भनिरहन्थे।
रविले थुप्रै लाख भुवन केसीको नाममा आईएमई गरिदिएका प्रमाण अहिले पनि ताजै छन्।
भुवनसँग पैसा फिर्ताका लागि तनाव र सास्ती
पोखरा सुटिङदेखि नै लगभग लगभग भुवन टाढिन थालिसकेका थिए। अब कसरी ‘ड्रिम्स’ को सुटिङ सक्ने? के गर्ने, कसरी गर्ने? भन्ने कुराको सरसल्लाह नै गर्न छोडे।
त्यसपछि रवि र क्यालले थप पैसा नलगाउने विचार गरे। तर, लगाएको पैसा त डुब्ने नै भो।
रविको कम्तीमा २२ लाख र क्यालको १२ लाख रुपैयाँ त्यो बेलासम्म खर्च भइसकेको थियो।
भुवनलाई बाल!
उनले पैसावाल ‘अर्को कोही’ भेटाइसकेका थिए।
‘पोखरा सुटिङकै बेला एकजना अमेरिका बस्ने मान्छे, त्यो ग्रुपमा थियो,’ रवि सम्झिन्छन्, ‘त्यही मान्छेसँग र अरूसँग पनि भुवनले पैसा
ल्याइसकेका रहेछन्।’ त्यसपछि त, रविहरूको के मतलब र? पैसा आउने भुवनले भेटाइसकेका थिए।
त्यसपछि तीनैजनाको ‘ड्रिम्स’ अर्कै भइसकेको थियो।
क्यालले भुवनका बारेमा धेरै कुरा सुनिसकेका थिए, १२–१४ लाखका लागि भुवनसँग भिड्न उनले मनासिव देखेनन्।
रविलाई त्यो ‘ड्रिम्स’ भन्दा अब भुवनसँग फसेको त्यो पैसा कसरी निकाल्ने भन्ने चिन्ता र, छटपटीले पोल्न थाल्यो।
अनि भुवन?
उनलाई त के, अब ‘ड्रिम्स’ को मार्केटिङमा खटिइसकेका थिए।
नभन्दै करिब-करिब ७५ लाखमा बनेको ड्रिम्सले लगभग साढे ४ करोडजति कमायो।
यो कमाइमा रविको लगभग २२ लाखजति खर्च भएको छ।
भुवन ड्रिम्सको ‘प्रिमियर’ र, ‘रिलिज’ मा लागिसकेका थिए, रवि भने त्यो फिल्म रोकेर भुवनसँग पैसा फिर्ता ल्याउन चाहन्थे।
त्यसका लागि रवि थुप्रै ठाउँ पुगे।
प्रहरीकहाँ पुगे, प्रहरीले मतलबै गरेन।
२०७२ साल माघ २२ गते सूचना तथा सञ्चार मन्त्रालयमा ‘ड्रिम्स नामक चलचित्रको सेन्सर तथा प्रदर्शन रोकिपाउँ’ भनेर उजुरी दिए। त्यै पनि मतलबै भएन।
बरु, ‘ड्रिम्स’ को सेन्सर पास भयो, त्यसको ठीक एक महिनापछि राति १२ बजे।
अनि २०७२ फागुन १२ गते ‘ड्रिम्स’ रिलिज भयो, त्यो लाखौं नेपाली ‘टिनेज’ को एउटा रोमाञ्चक ‘ड्रिम’ बन्यो।
‘त्यो बेला चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई हुनुहुन्थ्यो,’ रविलाई लाग्छ, ‘राजकुमार राईजस्तो मान्छेले पनि कसरी त्यो फिल्मको सेन्सर पास दिनुभो, मलाई अचम्म लागिराछ।’
केही पैसा लगाएपछि साथ छोडेका व्यवसायी क्यालले त मतलबै गरेनन्। भुवनसँग लडेर आफैंलाई ‘कमजोर’ किन देखाउनु? भनेर उनले आफूले लगाएको पैसा ‘मरोस्’ नै भनेर छोडिदिए।
रविलाई पनि उनका परिवारले नभनेका होइनन्, ‘भयो छोड्दे, भुवनसँग पैसा फिर्ता आउँदैन, त्यस्ता मान्छेलाई नचला।’
तर, पनि रविले आश मार्न सकेनन्।
‘आफ्नो पसिना बगाएर कमाएको पैसा हो, कसरी छोड्नसक्छु र?,’ रवि भन्छन्, ‘त्यतिकै निर्धो बनेर त के छोड्नु। कानुनी बाटो भएर पनि पैसा त लिएरै छोड्छु। अब लड्ने नै हो।’
अहिले पनि रवि विभिन्न संघ-संस्था र निकायहरुमा धाइरहेका छन्, कतै भुवनले पैसा फिर्ता दिइहाल्छन् कि?
तर, भुवन सम्पर्कमै छैनन्। न फोन उठाउँछन् न, सम्पर्कमा आउँछन्। बरु लगातार फोन गरिरह्यो भने फोन नै अफ गरिदिन्छन्।
रविले चलचित्र निर्माता संघमा पनि निवेदन दिएका छन्, ‘सेन्सर र प्रदर्शनी’ रोकिपाउँ भन्ने व्यहोराकै। २०७२ माघ १२ गते।
‘तर, कसैले पनि मेरो पीडा बुझेनन् हेर्नुस् न, आफ्नै क्षेत्रका संघ-संस्थाले नै हेर्दैनन्। चलचित्र निर्माताहरूलाई अप्ठ्यारो पर्दा चाहिने भनेर नै यस्ता संस्था बनाइएका त होलान नि?’
रविलाई कसले पो सम्झाइदिनु?
मेरो चरित्र हत्या गर्ने प्रयास हो : भुवन
रविका यी ‘आरोप’ हरूलाई भुवन केसीले भने चरित्र हत्या गर्ने ‘प्रपञ्च’ बाहेक अरू केही पनि होइन भनेका छन्।
‘प्रमाणहरू छन्, सबै कुराहरू छन् भने सिधै अड्डाअदालत गए भहाल्यो नि,’ आयोमेललाई संक्षिप्त प्रतिक्रिया दिँदै भुवनले भने, ‘पत्रकारले हिसाब मिलाइदिने त होइन, अनि लेनदेनको कागजपत्र बोकेर पत्रकार खोज्दै हिँडेपछि के भन्ने?’
भुवनकै शब्दमा रविको यो भुवनका चरित्र हत्या गर्ने ‘इन्टेन्सन’ हो।
रविका यी सारा कुरा सुनेपछि, उनले सुरक्षित राखेका सबै कागजपत्र हेरेपछि आयोमेलले भुवनलाई फोनमार्फत सम्पर्क गरेको थियो।
‘त्यस्तो केही पनि होइन, लेनदेन केही पनि छैन,’ पहिला त भुवनले छोटोमा भने, ‘उसका ती कागजपत्र सबै फेक हुन्।’
त्यसपछि फेरि भुवन आफैले फोन गरेर भने, ‘सबै कागजपत्र प्रमाण जुटाएर अड्डा अदालत जाने हो, पत्रकार खोज्दै जाने होइन।’
यतिमात्रै होइन, यसअघि चाबहिलकी एक महिलाले भुवन केसीले फिल्मका लागि १० लाख रुपैयाँ दिएको र त्यो फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी थिइन्।
त्यो पैसा भुवनले अमेरिकाबाटै लिएका थिए। चाबहिलकी पार्वती पाण्डेसँग भुवनले ‘ड्रिम्स’ चलेपछि पैसा फिर्ता दिन्छु भन्दै सापटी लिएका थिए।
र, अहिले भुवन फेरि चर्चामा छन्, साम्राज्ञीसँग १० करोड माग्दै मुद्दा हालेर।
यो पनि ‘ड्रिम्स’कै वरिपरि घुमेको कहानी हो।