अज्ञात रोगले गाई मर्न थाले, सयौं बिरामी

अज्ञात रोगले गाई मर्न थाले, सयौं बिरामी

झापाको माई पश्चिमका पालिकाका  किसानहरूले पालेका गाईमा अज्ञात रोगको संक्रमण देखा परेको छ। शिवसताक्षी गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिकाका किसानले पालेका गाई-गोरुमा त्यस्तो संक्रमण देखिएको हो।

पशु चिकित्सकले यसलाई  लम्पी स्किन डिजिजसँग मिल्दो संक्रमण भनेका छन्। पहिलोपटक तीनसाता अघि  गौरादह र  कमलका  किसानले पालेका गाई, बाच्छा, बाच्छी र गोरुमा सो संक्रमण देखापरेको थियो।

भैंसी र राँगामा यसको संक्रमण कम  छ। यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने,  ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता लक्षण देखिएको पीडित  किसानले बताएका छन्।

पशुमा एक्कासी नयाँ रोगको संक्रमण देखिएपछि किसानहरू चिन्तित भएका छन्। गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा लम्पी स्किन डिजिज भाइरसको संक्रमण संक्र मिल्दा लक्षण छन्।

लम्पी  संक्रमण देखिए यसको कुनै ठोस उपचार छैन।  यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएको र लक्षण अनुसार घाउको  मात्र उपचार  गर्न सकिने उनले जनाए।

साउनको तेस्रो सातासम्ममा गौरादहमा मात्रै ५ सय १ वटा गाई, १ सय ८३ बाच्छी, ९४ वटा बाच्छा, ७ वटा गोरु र ४ वटा भैंसी गरी ७ सय ८९ वटामा संक्रमण देखिएको छ।  

कमल गाउँपालिकाभित्र करिव १ सय ५० वटा गाई, केही बाच्छा बाच्छीमा सो संक्रमण देखा परेको छ। नयाँ संक्रमण थप फैलिन नदिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा नमूना  पठाइसकिएको छ।  रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले बताए।

अफ्रिकन मुलुकका पशुमा यो रोगको समस्या देखिएतापनि नेपालमा भने पहिलोपटक यो रोग देखा परेको हुन सक्ने पशु प्राविधिकहरूले दावी गरेका छन्।

गौरादह-४ डोरामारीका एक कृषकको एउटा गाई मरेको जनाइएको छ। लम्पीकै कारण गाई मरेको हो हैन भनेर पुष्टि हुन बाँकी रहेको गौरादह पशु सेवा शाखा प्राविधिक दिनेश ढकालले जानकारी दिए।

अधिकांश किसानहरू गाई, बाच्छाको जीउभरि डाबर आएको, खान छोडेको, ज्वरो आउने जस्ता समस्याहरू लिएर आउने गरेको भेटनरी जेटिए असोक कार्कीले बताए। कमलगाउँपालिका-१ का झपडबहादुर खड्का, मनिता खड्काको बाच्छीमा, गौरीगञज-१ का  मनमणि ढुंगेल र शिवसताक्षी- ४ का पदम बुढाथोकीका गाईहरू पनि यस्तै लक्षण देखा परेको छ।

गौरादह- ९ झमकचौकका किसानको एउटा गाई लम्पीसँग मिल्दोजुल्दो लक्षणले मरेको जनाइएको छ।

लम्पी स्किन डिजिज के हो?

लम्पी स्किन डिजिज गाईहरूमा एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस) बाट देखिने रोग  हो।

कहिलेकाहीँ भैंसीहरूमा पनि यो रोग देखिन सक्दछ। यो रोग सन् २०१२ मा मध्यपूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, कजाकिस्तान हुँदै बंगलादेशर भारतमा पनि केही महिना अघि देखा परेको थियो।  

अहिले नेपालका  मोरङ, झापा लगायत पूर्वी क्षेत्रमा लम्पीसँग मिल्दो जुल्दो लक्षण देखा परेको छ। 

मुख्य लक्षण

लम्पी स्किन डिजिज रोग लागपछि  कचेरा निस्कने, सिंगान बग्ने तथा फिंज धेरै निकाल्ने, शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडीको भाग, पेट र थुन वरिपरि गिर्खाहरू देखिने गर्छ।

गिर्खा  १० देखि ५० मिलिमिटरसम्मकको हुने गर्छ।  १०४ फरेनहाइट वा त्योभन्दा माथि ज्वरो आउने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्ने, गर्भ तुहिने र  महिनौं बाँझोपना देखिन सक्छ।  २० प्रतिशत जति गाईहरू बिरामी पर्ने र १ देखि ५ प्रतिशतसम्म गाईहरू मर्नसक्ने जोखिम हुन्छ। 

कसरी सर्छ रोग

लम्पी रोग सर्ने मूख्य कारण भनेको लामखुट्टे, झिङ्गा, किर्ना आदिको टोकाई हो। संक्रमित गाईभैंसीको आवतजावतबाट र संक्रमित पशु र स्वस्थ पशुलाई उपचारको क्रममा एउटै सुई प्रयोग गर्दा गाई, भैंसीहरूमा यो रोग सर्न सक्छ।

उपचार

यो रोगको उपचार तथा रोकथामका लागि अहिलेसम्म नेपालमा खोप उपलब्ध छैन।

पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्ने, संक्रमित क्षेत्रबाट पशुको आवतजावत नियन्त्रण, लामखुट्टे, झिङ्गा, किर्ना आदिको नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगथामको उपाय हो।


Leave a Reply

Your email address will not be published.