निषेधाज्ञापछि सुनसान नेपालगन्ज

निषेधाज्ञापछि सुनसान नेपालगन्ज

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा आइतबारबाट निषेधित क्षेत्र जारी गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आह्वान गरेका छन्। 

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तीन दिनसम्म निरन्तर रहने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए। 

निषेधाज्ञाको दोस्रो दिन सोमबार जनैपूर्णिमा मनाउन केही खुकुलो पारिए पनि केही स्थान बाहेक नेपालगन्ज प्राय सुनसान नै देखिएको छ। केही दिन अघिमा चहलपहल बढेको नेपालगन्ज फेरि सुनसान बनेको हो। होटेल ब्यवसयदेखि अत्यावश्यक बाहेकका सबै पसल बयवसाय फेरि बन्द भएका छन्।

नेपालगन्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएका थियो। त्यसपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले बाँकेमा तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए।

उनका अनुसार अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने बताइएको छ। 

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति भएका गाडी मात्र सञ्चालनमा आएका छन्। 


Leave a Reply

Your email address will not be published.