कर्मचारी र वडाध्यक्षमा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज उपमहानगर सिल

कर्मचारी र वडाध्यक्षमा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज उपमहानगर सिल

बाँके जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा संक्रमित संख्या दैनिक बढिरहेको छ।

यातायात, आन्तरिक राजस्व कार्यालय र जिल्ला अदालतमा गरिएको कर्मचारीको स्वाब परीक्षणका क्रममा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त्रसित भएको बाँकेको सरकारी संयन्त्र यतिबेला उच्च जोखिममा देखिएको छ।

यी तीन सरकारी कार्यालयसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका कोरोना संक्रमणको हटस्पटका रूपमा देखिएको छ।

सोमबार बिहान प्राप्त भेरी अस्पताल नेपालगन्जको तथ्यांकअनुसार उपमहानगरपालिकाका एक शाखा अधिकृतसहित वडा १ का वडाध्यक्ष प्रमोद रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालस्थित कोरोना भाइरस जाँच प्रयोगशालाको रिपोर्ट अनुसार नेपालगन्जका ९ सहित सल्यानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपालगन्ज उपमहानगरपालिकाका ६ जना कर्मचारीमा काेराेना संक्रमण रहेको अस्पतालले जनाएको छ। संक्रमित हुनेमा एक वडाध्यक्ष, २ वडा सचिव, ४ जना अधिकृत र एकजना कम्प्युटर अपरेटर रहेका छन्।

यसअघि जिल्ला अदालतमा पाँचजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।

पछिल्लो समय स्वास्थ्य कार्यालय यहाँका सरकारी कार्यालय र आमनागरिकको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या बढ्नेक्रम जारी छ। तर उचित र मापदण्डअनुसार आइसोलेसन र क्वारेन्टाइन पर्याप्त नहुँदा कोरोना संक्रमण देखिएको र बाहिरबाट आएका व्यक्तिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत अप्ठ्यारो भइरहेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

यसअघि बनाइएका क्वारेन्टाइन र आइसोलेसन सम्बन्धित पालिकाले हटाइसकेको छ। अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहले पुनः क्वारेन्टाइन निर्माण गर्ने काम सुरु गरेका छन् ।

बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ, फोकल पर्सन श्रेष्ठले भने, ‘आइसोलेसनको क्षमता कम भएकाले संक्रमित बिरामी कहाँ, कसरी व्यवस्थापन गर्ने अहिले समस्या देखिएको छ । उपमहानगरपालिका वडा १ का वडाअध्यक्षलाई कोरोना संक्रमण देखिएपछि सोमबार बिहान १० बजेसम्म उनलाई कहाँ राख्ने भन्ने विषयमा समस्या देखिएको थियो ।’ 

फोकल पर्सन श्रेष्ठले थपे, ‘जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको छलफल र आइसोलेसन कक्ष व्यवस्थापन पछि वडाध्यक्ष रिजाललाई खजुरा लगिएको छ।’ 

तर, आइसोलेसनको अभावमा नेपालगन्ज आन्तरिक राजस्व कार्यालयमा भेटिएका पाँचजना कर्मचारीलाई भने सोही कार्यालयमै आइसोलेसन कक्ष खडा गरी त्यहीं राखिएको छ । यसले पनि बाँकेमा कोरोना संक्रमित बढ्दै जादाँ आइसोलेसन र क्वारेन्टाइनको अभाव हुँदै गएको प्रष्ट हुन्छ।

कोरोना संक्रमणको अत्यधिक जोखिममा देखिएसँगै नेपालगन्ज उपमहानगरपालिकामा सोमबार दिउँसोदेखि कार्यालयका सबै कामकाज बन्द गरिएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काद्वारा जारी सूचनाअनुसार उपमहानगरपालिका अर्को सूचना नहुदाँसम्म सिल गरिएको उल्लेख छ। 

कोरोना संक्रमणका कारण जनप्रतिनिधि र कर्मचारी संक्रमित भएर उपचारमा भएकाले बिरामी निको भइ उपमहानगरपालिकामा कोरोनाको सन्त्रास नहट्दासम्म कार्यालय बन्द रहने उल्लेख गर्दै उक्त सूचनामा यस अवधिमा आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं भनिएको छ।


Leave a Reply

Your email address will not be published.