प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना पुष्टि

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना पुष्टि

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कार्यालयका एकजना अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुई महिला कर्मचारीमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्।

दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरूमा संक्रमण पुष्टि भएको उनले बताए। संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको भट्टराईले बताएका छन्।

यसअघि सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

यता जनकपुरस्थित आइएमई बैंकका तीनजना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। बैंक सञ्चालनमा आउँदा भीडभाड बढेपछि कर्मचारीमा संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि जनकपुरकै माछापुच्छ्रे बैंकका एक कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो।


Leave a Reply

Your email address will not be published.