‘ओली र प्रचण्ड निरन्तर भेट्नु नै सकारात्मक’

‘ओली र प्रचण्ड निरन्तर भेट्नु नै सकारात्मक’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साउन १३ गते हुने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेपछि आन्तरिक विवाद झन् चर्क्यो। ओलीले एकलौटी ढंगले स्थायी कमिटी बैठक स्थगित गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रामक हुँदै सोही दिन आफूपक्षधर स्थायी समितिका सदस्यहरुको भेला बोलाएर बैठक राखे।

उक्त बैठकपछि दुवै अध्यक्षको बोलाचाल लगभग बन्द नै भएको थियो। उक्त भेलाले ओलीसँग परामर्श गरी आन्तरिक विवाद समाधानका लागि पहल गर्न जिम्मेवारी दियो। तदनुरुपै प्रचण्डले ओलीलाई बैठक आह्वान गर्न आग्रह गरे। त्यसलाई पनि ओलीले अस्वीकार गरेपछि नेकपा फुटको चरणमा रहेको भन्ने आशंका सतहमा देखियो।

पार्टी फुटाउन नदिन प्रचण्डमाथि दबाब भएपछि प्रचण्ड आफैंले केपी शर्माओलीलाई आग्रह गर्दै निकासको बाटो खोज्न आग्रह गरे। सोही अनुसार आइतबार वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित दुई अध्यक्षको बैठक बस्यो।

बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफ्नो हठ त्याग्दै पार्टी एकतालाई पूर्णता दिन र स्थायी कमिटी बैठक आह्वान गर्न आग्रह गरे। तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकभन्दा पनि सचिवालय बैठकबाट नै निकास निकाल्नुपर्ने अडान राखे। 

दुवै अध्यक्षले आ–आफ्नो अडान कायमै राखेपछि आइतबारको बैठक पनि बिना निस्कर्ष टुंगियो। करिब तीन घण्टाको बैठकबाट कुनै निस्कर्ष ननिस्केपछि अध्यक्ष प्रचण्डले सोमबार पुनः प्रधानमन्त्री ओलीसँग झलनाथ खनाल र सुवास नेम्वाङसहितको उपस्थितिमा बालुवाटारमा बैठक बसे।

सोमबार पनि ओली सचिवालयबाटै निकास खोज्नुपर्ने अडानमा देखिएपछि बैठकबाट कुनै निस्कर्ष निस्केको छैन। केही दिन बोलचालसमेत बन्द भएको अवस्थामा भलै सहमति नभए पनि निरन्तर बैठकमा बस्नुले राम्रो संकेत गरेको नेकपा नेताहरु बताउँछन्।

संवादहीनतालाई समाप्त गरी वार्तामा बस्नु सकारात्मक भएको बैठकमा बसेका नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ बताउँछन्। 

‘लामो संवादहीनता समाप्त गरिएको छ। दुवै अध्यक्षबीच अहिलेको गतिरोध अन्त्यका लागि वार्ता सुरु भएको छ,’ उनले भने, ‘हिजो र आजको दुवै बैठकमा दुवै अध्यक्षले सकारात्मक कुरा राख्नुभएको छ। अहिलेको अवस्थालाई सामान्य पार्न निरन्तर सुरु भएको वार्ताले सकारात्मक परिणम नै दिनेछ।’

सहमतिबाटै निकास निकाल्ने दुवै अध्यक्षको निस्कर्ष रहेकाले अहिलको वार्तालाई हार्दिकताका रुपमा बुझ्न सकिने उनको भनाइ छ। ‘छलफलबाटै निकास निस्कने हो, अर्को विकल्प छैन भन्ने निस्कर्षमा दुवै अध्यक्षहरु हुनुहुन्छ। त्यसैले केही दिनमै निकास निस्कनेमा म पनि विश्वस्त छु’, नेता नेम्वाङले भने । 

बैठकमा के कस्ता कुरा भए भन्नेबारे जानकारी नभए पनि निरन्तर छलफल हुनुले कुनै निकास निस्कनेमा आशावादी हुन सकिने नेकपा स्थायी कमिटी सदस्य भीम रावल बताउँछन्। ‘बैठकमा के कस्ता विषयमाथि छलफल भयो, जानकारीमा आएको त छैन,’ आयोमेलसँग कुरा गर्दै नेता रावलले भने, ‘तर, दैनिक हुने बसाइले पक्कै पनि अहिलेको गतिरोध समाधानका लागि केही न केही निकास त अवश्य निस्केला नि!’

सोमबारको बैठकमा दुवै अध्यक्ष सहमत हुन नसकेपछि मंगलबार साझ पाँच बजे बस्नेगरी बैठक सकिएको छ। सचिवालयमा आफू निकट नेताहरुको बहुमत देखिएपछि प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक बसाउने मनसायमा देखिँदैनन्। 

‘स्थायी कमिटीमा अहिले भएका कमजोरी र उहाँको राजीनामासम्मको कुरा उठ्ने देखिएपछि उहाँले यसप्रति स्वीकार गर्नुभएको छैन,’ नेकपाका एक नेताले भने, ‘अहिले सचिवालयमा उपाध्यक्षसहितका नेताहरु उहाँको लाइनमा हुनुहुन्छ, त्यसैले उहाँले आफ्नो एजेण्डा त्यहाँबाट स्थापीत हुने देखेपछि सचिवालय बैठकतिरै जोड दिनुभएको हुनसक्छ।’

यस्तै, दुई अध्यक्षहरु निरन्तर वार्तामा बस्नु राम्रो संकेत भएको नेकपाका अर्का नेता रघुजी पन्तले बताए। आयोमेलसँग कुरा गर्दै स्थायी कमिटी सदस्यसमेत रहेका पन्तले भने, ‘दुवै अध्यक्षसँग मेरो कुरा त भएको छैन तर हिजोदेखि जारी गतिरोध अन्त्यका लागि वार्तामा बस्नुभएको खबर छ। यसले पक्कै पनि राम्रो निकास निस्कन्छ नै।’


Leave a Reply

Your email address will not be published.