नेपाल बैंकले ल्यायो ७.९९ प्रतिशतमै घर कर्जा, सस्तो घडेरी खरिद कर्जा पनि

नेपाल बैंकले ल्यायो ७.९९ प्रतिशतमै घर कर्जा, सस्तो घडेरी खरिद कर्जा पनि

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सस्तो ब्याजदरमा घरकर्जा योजना ल्याएको हो।

बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार बैंकिङ बजारमा कम ब्याजदर हुनेगरी पाँच वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याइएको हो। यो कर्जाबाट घर निर्माण, घर खरिद तथा तला थप गर्न मिल्ने छ, भने अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा छ।

बैंकले योसँगै नयाँ लघु उद्यम कर्जा,  समृद्ध व्यवसाय कर्जा  र घडेरी कर्जा योजना पनि ल्याएको छ।

लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ। 

सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार-व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाखदेखि ९९ लाखसम्म लघु उद्यम कर्जा र १ करोडदेखि ३ करोड सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागि समृद्ध  व्यवसाय कर्जा  उपलब्ध गराउन सकिने बैंकले जनाएको छ।

‘यी कर्जा अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजीकर्जा  प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्नेलाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको जनाइएको छ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ। यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ।

 


Leave a Reply

Your email address will not be published.