अब पालो च्याम्पियन्स लिग र युरोपा लिगको
कोरोना भाइरस संक्रमणको महामारीपछि रोकिएको क्लब फुटबल युरोपमा सुरु भएर अन्त्यको संघारमा पनि छ। लिग र कपका लगभग सबै प्रतियोगिता सकिसकेका छन्।
खाली बढुवा र घटुवाका केही प्लेअफ खेलमात्र बाँकी छन्। त्यसमाथि स्टकल्यान्डमा त नयाँ सिजन २०२०-२१ पनि सुरु भइसकेको छ। यस्तोमा अब सबैको ध्यान मोडिएको छ, युरोपेली च्याम्पियन्स लिग र युरोपा लिगमा।
कोभिड-१९ कै कारण यी दुई प्रतियोगिता पनि रोकिएको हो। च्याम्पियन्स लिगमा अन्तिम १६ का चार खेल बाँकी छन् र यी सबै दोस्रो लेगका खेल हुन्।
अगस्ट ७ मा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा युभेन्ट्स र लियोनबीच खेल हुनेछ। यस्तै अगस्ट ८ मा बार्सिलोना र नेपोली तथा बायर्न म्युनिख र चेल्सीबीच खेल हुनेछ।
यी खेलको पहिलो लेगको समाप्तिमा सिटी २-१, लियोन १-० र बायर्न ३-० ले अगाडि छ। बार्सिलोना र नेपोली भने १-१ को बराबरीमा छन्। दोस्रो लेगका यी खेलपछि च्याम्पियन्स लिगले ‘मिनी टुर्नामेन्ट’ को रूप लिनेछ।
त्यसो भनेको अब क्वाटरफाइनलमा पुगेका सबै आठ टिम पोर्चुगलको लिस्वनमा जम्मा हुनेछन्। जहाँ नकआउटका आधारमा खेल हुनेछ। यसैअनुसार युरोपा लिगकाे खेल पनि हुनेछ।
यसका पनि अन्तिम १६ का केही खेल बाँकी छन् र यसको समाप्तिमा यसले पनि मिनी टुर्नामेन्ट’ को रूप लिनेछ। यसका खेल भने जर्मनीमा हुनेछ।
-एजेन्सीको सहयोगमा