उच्च ज्वरो आएका उदयपुरका पुरुषको कोसी अस्पतालमा मृत्यु, कोरोना आशंका
उदयपुरको बेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ।
बेलका नगरपालिका–१ का ५५ वर्षे वेदप्रसाद न्यौपानेलाई मंगलबार राति कोसी अस्पतालमा भर्ना गरिएपछि राति १ बजे उनको निधन भएको अस्पतालका मेसु डाक्टर चुमनलाल दासले जानकारी दिए।
दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो। अस्पताल भर्नालगत्तै लिइएको तापक्रममा १ सय ४ डिग्री ज्वरो देखिएको थियो। दासले परिवारका सदस्यसँग जानकारी दिँदा मृतकमा केही दिनदेखि जन्डिसको लक्षण र ज्वरो सँगै देखापरेको बताए।
घरबाट कहींकतै ननिस्किएका ती व्यक्तिलाई बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुने लक्षण देखिएपछि कोरोना हुनसक्ने भन्दै तत्काल स्वाब लिई पिसिआर परीक्षण गराउन पठाइएको छ।
हिजो मात्र कोसी आइसोलेटेड अस्पतालमा विराटनगर–५ का एक ७७ वर्षीय कोरोना संक्रमित व्यक्तिको ज्यान गएको थियो।
मृतकको शवलाई अहिले नेपाल प्रहरीले स्कर्टिङ गरी नेपाली सेनाको डेडिकेटेड टोलीले मोरङको कानेपोखरीको जंगलमा अन्त्येष्टि गर्न लगेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।