राम मन्दिर शिलान्यासमा अयोध्या हिँडेका जानकी मन्दिरका महन्त नाकाबाट किन फर्काइए?

राम मन्दिर शिलान्यासमा अयोध्या हिँडेका जानकी मन्दिरका महन्त नाकाबाट किन फर्काइए?

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा बुधबार राम मन्दिरको शिलान्यास हुँदै छ। लामो प्रतीक्षापछि भारतको उच्च अदालतले फैसला गरेपछि अयोध्यामा राम मन्दिर निर्माण हुन लागेको हो।

राम मन्दिर शिलान्यास गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी दिल्लीबाट अयोध्या पुगिरहेका छन्। शिलान्यास कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवतलाई बनाइएको छ। कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुनेछन्।

कोरोना महामारीका कारण राम मन्दिर शिलान्यास कार्यक्रममा सीमित व्यक्तिलाई मात्रै आमन्त्रित गरिएको छ। सीमित व्यक्तिहरूमध्ये शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दासलाई पनि निमन्त्रणा पठाइएको छ।

अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र नामक संस्थाका महासचिव चम्पन रायले जानकी मन्दिरका महन्त दासलाई पठाएको पत्रमा ‘राम मन्दिर निर्माण कार्य प्रारम्भ हुने ऐतिहासिक क्षणको आमन्त्रण दिएर हामीलाई हर्ष र उल्लासको अनुभूति भएको छ। यस शुभ अवसरमा ४ अगस्टका दिन सन्ध्याकालसम्म कारसेवकपुरम, जानकीघाट परिक्रमा मार्ग अयोध्यामा उपस्थित भइदिन अनुरोध छ’ भनिएको छ।

शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्याबाट निमन्त्रणा आएअनुसार जानकी मन्दिर महन्त दास आफ्नै गाडी लिएर त्यसतर्फ हिँडे। तर, नाकामा प्रहरीले अनुमति नदिएपछि दास पुनः जनकपुर फर्किनुपर्यो।

नाकाबाट आवतजावत गर्न प्रतिबन्ध रहेको भन्दै सुरक्षाकर्मीले अनुमति नदिएपछि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्या जान नसकेको बताइएको छ।

जानकी मन्दिरका महन्त दासले शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्न अयोध्याका लागि हिँडे पनि प्रहरीले नाकाबाट जान अनुमति नदिएको बताएका छन्। सुरक्षाकर्मीले नाकामा रोकेपछि फर्केर जनकपुर आउनुपरेको उनको भनाइ छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग कुरा गर्दा उनीहरूले अस्पतालको पिसिआर रिपोर्ट देखाएमात्र जान दिन भनेको महन्त दासले बताएका छन्। ‘माता जानकीको ससुराली अयोध्यामा ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने चाहना पूरा हुनसकेन,’ दासले भने। शिलान्यास कार्यक्रममा अयोध्या जान नपाए पनि बुधबार जानकी मन्दिरमै विशेष कार्यक्रमको आयोजना गरिने उनले बताए।

राम मन्दिर शिलान्यास कार्यक्रममा अयोध्या जान जानकी मन्दिरका महन्त दासलाई सुरक्षाकर्मीले अनुमति नदिएपछि जनकपुरका स्थानीयले संस्कृति उपरको प्रहारका रूपमा अर्थाएका छन्। कोरोनाकै कारण देखाएर ऐतिहासिक राम मन्दिरको शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व हुन नदिनु दुःखद रहेको स्थानीयहरूको भनाइ छ।

स्थानीय युवा सुशील कर्णले राम मन्दिर शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउँछन्। 
‘जनकपुर र अयोध्याबीच पौराणिक सम्बन्ध स्थापित छ, त्यहाँ राम मन्दिर शिलान्यास भइरहेको छ,’ उनले भने, ‘जनकपुरबाट प्रतिनिधित्व हुनुपर्दथ्यो, कोरोनाकै कारण महन्तलाई जानबाट रोक्नु हुँदैनथ्यो।’

‘भारततर्फबाट दैनिक मालसमान ढुवानी हुँदा कोरोना संक्रमण नहुने तर जानकी मन्दिरका एकजना महन्त जाँदा संक्रमण हुने?,’ कर्णले प्रश्न गरे।

जनकपुर र अयोध्याबीच वर्षौंदेखि धार्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ। रामजानकी विवाहोत्सवमा सहभागी हुन हरेक वर्ष अयोध्याबाट साधुसन्तहरू जन्तीको रूपमा जनकपुर आउने गरेका छन्।


Leave a Reply

Your email address will not be published.