देउवाले ओलीलाई भने, ‘म डाक्टर हो र?’
कांग्रेस सभापित शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रण सम्बन्धमा राजनीतिज्ञलाई भेट्न नबोलाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको बताएका छन्।
विशेषज्ञ चिकित्सकहरूसँगको छलफलमा विपक्षी दलको नेताका रुपमा बोलाइएका देउवाले प्रधानमन्त्रीलाई डाक्टर भेटेर परामर्श गर्न अनुरोध गरेको बताए।
‘म डाक्टर हो र? पोलिटिसियनलाई किन भेट्नु,’ संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने, ‘डाक्टरले भन्ने कुरा मैले भनेर हुन्छ?’
सुझावको रुपमा आफूले पिसिआर परीक्षण बढाउन प्रधानमन्त्रीलाई भनेको बताए। ‘उहाँ (प्रधानमन्त्री) यति गरेको छु, उति गरेको छु मात्र भन्नुहुन्छ, मैले पिसिआर बढाउनुस् भनें,’ देउवाले भने।
देउवाले राखेका सुझाव यस्ता छन्
– हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस्। स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही गरियोस्।
– नेपाली कांग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न विषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न विशेष ध्यानाकर्षण गराउँदछु:
– आरडिटी परीक्षण स्थायी रुपले अन्त्य।
– सम्पूर्ण रुपले पिसिआर परिक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध। अत्यावश्यक पर्ने औषधी रेमडिसिभरको आयातमा तदारुकता। आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन।
– विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्याउने व्यवस्था।
– नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चारमाध्यमको व्यापक प्रयोग।
– परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस्।
– विभिन्न दल, संघ-संस्था र आम सञ्चारमाध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस्।
– उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस्।
– विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरूको जीवन रक्षा गरियोस्।
– वर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस्।