कोरोना रिपाेर्ट नआएसम्म पशुपतिमै बास पर्ला कि!

कोरोना रिपाेर्ट नआएसम्म पशुपतिमै बास पर्ला कि!

मंगलबार बिहान ११ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल पुग्दा कोरोना परीक्षण गराउने मानिसको लाइन मूल सडकसम्म आइसकेको थियो।

चर्को भदौरे घाममा निकै बेर उभिएर फतक्क गलिसकेका, कोही गोडा गलेर लाइनबीचै टुसुक्क बसेका।  
व्यग्र प्रतीक्षा, स्वाब दिनका लागि।

लाममा बसेका अधिकांश मजदुर वर्ग। प्रायः मधेस वा भारतबाट हालसाल काठमाडौं छिरेका। कोही फलफूल, तरकारी बेच्ने त ज्याला मजदुरी गर्ने। ज्याला मजदुर अधिकतर निर्माण क्षेत्रका।  

‘यहीँबाट पो कोरोना सर्ला भन्ने डर पो भयो,’ लामबाटै कसैले सुस्केरा हाल्दै भन्यो। 

मुखमा कपडाको मास्क, मैलिइसकेको। टाउकोमा चिट्चिट् पसिना। 

नाम : सोनालाल गिरी 
घर : रौतहट 
काम : ठेलागाडामा तरकारी बेच्ने। 

सोनालाल रौतहतबाट आज बिहान मात्र तिलगंगा आइपुगेका हुन्। 

कोरोना परीक्षण नगरी घरबेटीले कोठामा छिर्न दिएन। छिमेकमा हल्ला फैलिइहाल्यो। 

तराईबाट कोरोना लिएर आयो भनेर मानिसहरू रमिता गर्न थाले। 

घरबाट ल्याएको पोकोपन्तुरो नै बोकेर उनी सोझै टेकु अस्पतालतर्फ हानिए।  

किन काठमाडौं आएको त? 

रेडियो, टेलिभिजनले काठमाडौंमा लकडाउन खुलेको फुक्न थाले। 

सोनालालले सोच्न थाले- अब गएर मजदुरी गर्न मिल्ने भो। 

‘घर भएको अन्नपात सकियो, अब काम नभए बालबच्चा पाल्न नसकिने भयो, त्यसैले जे त पर्ला भनेर हिँडें,’ उनले दुःख सुनाए।  

सोनालालले राजधानीका गल्ली-गल्लीमा ठेलगाडामा तरकारी बेचेको वर्षौं बितेको थियो। 

कोरोनाका बाछिटा चल्दैमा सरकारले लकडाउन भनिदियो। उनी नगरपालिकाले व्यवस्था गरेको बस चढेर गाउँ पुगे। 

गाउँमा केही दिन ताजा हावा र तनावरहित वातावरणले मजा त दियो। तर महिनौं बित्दा पेट नै कसरी पाल्ने भन्ने चिन्ताले पोल्न थाल्यो। 

‘कति दिन यसरी चल्छ? कोरोनाको डरले भन्दा पनि खान नपाएर मर्ने बेला भयो। यहाँ केही काम गर्न सकिए बालबालिकाको पेट त भर्न सकिएला,’ उनी भावुक भए।

सोनालाल आइतबार काठमाडौं हिँडेका थिए, पत्नी र एक नाति च्यापेर। 

‘काठमाडौं आउनका लागि पैसा थिएन, साथीभाइसँग १५ हजार रुपियाँ सापटी मागेर आएँ,’ साेनालालले भने, ‘त्योमध्ये लगभग १० हजार त तीनजनाको काठमाडौंसम्मको एकतर्फी भाडामा सकियो। अब के खाने, कसरी बस्ने केही ठेगान छैन।’

पहिले सामान्य अवस्थामा प्रतिव्यक्ति ७ सय रुपियाँमा घर ओहोर–दोहोर गर्ने सोनालाल आज जनही ३ हजार ५ सयका दरले भाडा तिरेर आएका हुन्। 

बसवालाका लागि दसैं लागेको छ। ब्रह्मलुट छ।  

रौतहटबाट चढेको बसले धुलिखेल ल्याएर छोडिदियो। त्यो पनि प्रतिव्यक्ति ३ हजार ५ सय रुपियाँ दबाउँदै। त्यसपछि उनी अर्को बस समातेर काठमाडौं छिरे। त्यसका लागि जनही डेढ सय रुपियाँ। बिहानदेखि पानी सिवाय उनी र पत्नीको मुखमा केही परेको छैन। 

‘हामीले त केही खाएका छैनाैं, नाति भोक लाग्यो भनेर रुन थाल्यो। उसलाइै एक पुरिया बिस्कोट किनेर दिएँ,’ नातितर्फ हेर्दै उनले भने। 

आयोमेल संवाददातासँग कुरा गर्दागर्दै सोनालालको स्वाब संकलनको पालो आयो। स्वाब लिएपछि चिकित्सकले भने, ‘आज तपाईको परीक्षणको रिपाेर्ट आउँदैन, भोलि फोन आउँछ।’

सोनालाल रिपोर्ट नलिई घरभेटी नजिक पर्न सक्नेवाला छैनन्। बेलुकी कहाँ बस्ने त? उनीसँग केही हजार बाँकी छ। होटल पनि खुलेका छैनन्। होटलै पाए पनि भोलिदेखि अन्नपानी केले चलाउने? 

‘अन्त जाने ठाउँ छैन। आफन्तकहाँ जाउँ, रोगग्रस्त ठाउँबाट आएको भनेर झर्को मान्लान्,’ उनले भने,‘रिपाेर्ट नआउँदा सम्म पशुपतिको मन्दिरमा बास होला।’

टेकु अस्पतालमा पुग्ने अधिंकाश मानिसको कथा दारुण छ।

लाममै भेटिएका सलार्हीका मदन शाहलाई सुन्दा सोनालालकै जस्तो मर्म छचल्किन्छ। ५ महिनाअघि काठकाडौंमा काम नभएपछि उनी घर गएका थिए। 

‘भएको पैसा पनि सकियो, घरमा श्रीमतीसहित ५ बालबच्चा छन्,’ शाहले भने,‘ भोक लाग्यो भनेर रुन्छन्। घरमा बसेर काम गरौं भने खेतीपाती छैन।’

उनले बल्खु क्षेत्रमा १५ वर्षदेखि गाडीमा सामान अनलोडको काम गर्दै आएका छन्। 

‘रिपाेर्ट नभई घरबेटीले नआउनु भनेको छ। रिपाेर्ट नआउँदा सम्म अब गोदाम नै बस्नुपर्ला,’ शाहले भने। 

बाध्य भएर अस्पताल आउने सबैमा डर छ- न यहीबाट कोरोना सर्ने पो हो कि! कोरोना सर्छ कि भनेर दुरी कायम गर्ने प्रयास गर्छन्। तर त्यो भीडमा सम्भव भए पो। 

लाइन व्यवस्थापन गर्न ड्युटीमा खटिएका प्रहरीहरू उनीहरूलाई ‘पर-पर सरेर बस्नु’ भन्दै बेलाबेला आग्रह गरिरहेका हुन्छन्। 

तर, थोरै ठाउँमा धेरै मानिस भएपछि कसरी व्यवस्थापन गर्न सकुन्?

लाइनमा बस्नका लागि ३० रुपैयाँको टिकट काट्नुपर्छ। एउटै झ्यालबाट टिकट दिने भएकाले ठेलमठेल नै हुन्छ। 

अस्पतालको प्राङ्गणमा तीन ठाउँमा स्वास्थ्यकर्मी बसेका छन्। उनीहरूले त्यहीं ज्वरो नाप्छन्। ट्राभल हिस्ट्री सोध्छन्। 

कोरोनाको लक्षण भएको वा संक्रमित व्यक्तिको सम्पर्कमा नआएको  भए १४ दिन होम क्वारेन्टाइनमा बस्न सल्लाह दिन्छन्। 

केही शंका लागेमा परीक्षणका लागि पठाउँछन्। 

टेकु अस्पतालमा दैनिक १२ सय देखि १५ सयको हाराहारीमा परीक्षण गर्न आउँछन्। 


पछिल्लो समय भारतको बिहार क्षेत्रका मानिसहरू  ठूलो संख्यामा परीक्षण गर्नका लागि आइरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। 

‘अधिंकास बसाइँसराइवाला कामदार रहेका छन। घर बनाउने, फोहोरमैला काम, तरकारी बेच्ने मानिसहरु छन्,’ उनले भने,‘ सबै जनाको यहीँ भीड हुँदा हामीले सामाजिक दूरीमा समेत कायम राख्न सकेका छैनाैं।’

उनका अनुसार परीक्षण गर्न आउने नेपालीमा चाहिं अधिंकाश रौतहट, बारा, पर्सा, सप्तरी, सर्लाहीका छन्। 

घरबेटीहरूले काभ्रे तथा सिन्धुपाल्चोकबाट आएका मानिसलाई पनि शंका मानेर परीक्षण गर्न पठाउने गरेका छन्। ‘जोखिममा नभएका लागि पनि घरबेटीले दु:ख दिने काम गरेका छन्,’ डा. राजभण्डारी भन्छन्। 

दैनिक १५ सय मानिस कोरोना परीक्षणका लागि लाममा बस्छन्। उनीहरुमध्ये करिब ३ सय जनाको मात्र स्वाब लिइन्छ। बाँकीलाई काउन्सिलिङ गरेर फर्काइन्छ। आम मानिस, खास गरी मजदुर वर्ग परीक्षणका लागि टेकु नै जान्छन्। निजी अस्पतालहरूमा पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपियाँ तिर्नुपर्छ। टेकुमा टिकट शुल्क ३० रुपियाँबाहेक कुनै रकम लाग्दैन।  

‘आजको दिनमा हामीले झैं अन्य अस्पतालले पनि परीक्षण गरेको भए, यो भीड थप जोखिम नहुने थियो,’ डा. राजभण्डारी भन्छन्। 

‘कराउँदा-कराउँदा बल्ल स्वास्थ्य मन्त्रालयले निशुल्क उपत्यकामा १४ स्थानमा स्वाब संकलन गर्ने निर्णय गरेको छ,’ डा. राजभण्डारी भन्छन्,‘ हेरौँ अब केही दिनमा भीड अलि नियन्त्रण हुन्छ कि।’


Leave a Reply

Your email address will not be published.