अयोध्या जान जानकी मन्दिरका महन्तलाई प्रशासनले ‘पास’ दियो

अयोध्या जान जानकी मन्दिरका महन्तलाई प्रशासनले ‘पास’ दियो

जानकी मन्दिरका महन्त रामतपेश्वर दास राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन् भारतको अयोध्यातर्फ लागेका छन्। आयो मेलमा समाचार आएको केहीबेरपछि जिल्ला प्रशासन कार्यालयले पास दिएपछि महन्त दास अयोध्यातर्फ लागेका हुन्।

यसअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्यातर्फ हिँडेका महन्त दासलाई सोमबार महोत्तरीको मटिहानी नाकाबाट फर्काइएको थियो। 

कोरोना महामारीका कारण नाका सील रहेको अवस्थामा भारततर्फ जाने अनुमति नरहेको भन्दै सुरक्षाकर्मीले महन्त दासलाई नाकाबाट फिर्ता पठाएको थियो।

‘जिल्ला प्रशासन कार्यालयले पास दिएको छ, पास पाइसकेपछि अयोध्यातर्फ लागेका छौं,’ महन्त दासले आयोमेलसँग भने,‘ रामको घर निर्माणहुँदा माता सीताको माइती जनकपुरबाट प्रतिनिधित्व जरुरी थियो।’

पौराणिक र धार्मिक सम्बन्ध रहेको कारणपनि अयोध्यामा हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा जनकपुरको प्रतिनिधित्व गर्ने आफ्नो चाहना रहेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले महन्त दासको गाडीलाई महोत्तरीको मटिहानी नाकासम्म पुग्न पास उपलब्ध गराएको बताइएको छ। नाका कटिसकेपछि भारतबाट उनी अर्कै गाडी लिएर अयोध्यासम्म पुग्ने महन्तका एकजना सहयोगीले जानकारी दिए। नाकाबाट अयोध्यासम्म पुग्न भारतीय सुरक्षाकर्मीले मद्त गर्ने उनको भनाइ छ।

लामो प्रतिक्षापछि बुधबार भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको शिलान्यास भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुन जानकी मन्दिरका महन्त दासलाई निमन्त्रणा पठाइएको छ।

दासले पाँच ओटा चाँदीको इट्टा राममन्दीर शिलान्यासमा जनकपुरको तर्फबाट थप्ने बताएका छन्।

र यो पनि,

राम मन्दिर शिलान्यासमा अयोध्या हिँडेका जानकी मन्दिरका महन्त नाकाबाट किन फर्काइए?


Leave a Reply

Your email address will not be published.