१४ नेपाली सेनासहित प्रदेश २ मा ३६ जनामा कोरोना पुष्टि

१४ नेपाली सेनासहित प्रदेश २ मा ३६ जनामा कोरोना पुष्टि

१४ जना नेपाली सेनासहित प्रदेश २ मा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा प्रदेश २ का विभिन्न जिल्ला गरी ३६ जनामा संक्रम पुष्टि भएको हो। ३६ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ।

महोत्तरीको जलेश्वर नगरपालिका प्रकौलीस्थित रणभीम गणका १४ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि सोही गणका १० जना नेपाली सेनामा संक्रमण पुष्टि भएको थियो।

यसैगरी जनकपुरको माछापुच्छ्रे बैंकमा कार्यरत थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत २९ वर्षीया एक महिला र ३० तथा ३१ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। केहीदिनअघि बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ४ र १५ का २३ देखि ४४ वर्ष उमेर समूहका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

धनुषाकै सबैला नगरपालिका–७, धनौजी गाउँपालिका, विदेह नगरपालिका र जनस्वास्थ्य कार्यालयका १/१ जनामा संक्रमण पुष्टि भएको छ।
महोत्तरीको सम्सी गाउँपालिका घर भइ हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका ३२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिका–८ का ७, सिरहाका औरमा–९ का १ र सर्लाहीका रामनगर गाउँपालिका–१ का एकजनामा संक्रमण पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published.