प्रधानमन्त्रीलाई स्वास्थ्य विज्ञहरूको सुझाव, ‘यथास्थितिमा चल्दैन, केही कदम चाल्नैपर्छ’

प्रधानमन्त्रीलाई स्वास्थ्य विज्ञहरूको सुझाव, ‘यथास्थितिमा चल्दैन, केही कदम चाल्नैपर्छ’

लकडाउन अन्त्यपछि कोरोना संक्रमण निरन्तर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरूसँग छलफल गरेका छन्। 

मंगलबार प्रधानमन्त्रीले उनीहरूसँगै प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेका थिए।

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि छलफलमा सहभागी थिए। 

उनीहरुले दुई घण्टाजति बसेर प्रधानमन्त्रीका कुरा सुने अनि केही सुझावहरू दिएर निस्किए। 

तर, स्वास्थ्य विज्ञहरुका कुरा भने प्रधानमन्त्रीले चार घण्टासम्म धैर्यका साथ सुने। 

सहभागी भएका विज्ञहरूले विभिन्नखाले मिश्रित सुझाव दिएका थिए। 

उनीहरूका अनुसार विज्ञहरूले कम्तीमा दुई हप्ताजति कडाखालको लकडाउन गर्न पनि सुझाव दिएका थिए। 

त्यस्तै संक्रमण भइरहेको क्षेत्र तथा जोखिम क्षेत्र पहिचान गरेर सिल गर्ने अवधारणा ल्याउन पनि उनीहरूले प्रधानमन्त्रीलाई सल्लाह दिए। 

प्रधानमन्त्रीसँगको छलफलमा चिकित्सक संघका अध्यक्ष लोचन कार्की, डा. भगवान कोइराला, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित, त्रिवि शिक्षण अस्पतालका डा. सुभाष आचार्यलगायत सहभागी थिए। 

डा. लोचन कार्कीले अहिले कोरोना संक्रमितको उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीहरूको मनोबल खस्किरहेको भन्दै त्यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

अहिलेसम्म २ सय भन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको भन्दै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनेखालका योजना ल्याउन उनले प्रधानमन्त्रीलाई सुझाए। 

‘धेरै विज्ञहरूले प्रधानमन्त्रीलाई मिश्रित सुझाव दिनुभएको छ,' कार्कीले भने ‘प्रधानमन्त्रीले यी सुझावलाई समेटेर सरकार अघि बढ्ने बताउनुभएको छ।’

उनका अनुसार सबैजसो चिकित्सक तथा विज्ञहरूको सुझाव यथास्थितिमा चल्दैन र झन् भयावह हुनसक्छ भन्ने नै थियो। 

त्यसपछि प्रधानमन्त्रीले विज्ञहरूको सुझावका आधारमा सरकारले रणनीति बनाएर अघि बढ्ने बताएका थिए। 

‘सरकारले यही नै निर्णय गर्ने भन्ने होइन’ प्रधानमन्त्रीले भनेका थिए ‘तपाई विज्ञहरूको सुझावको आधारमा रणनीति बनाएर अघि बढ्छौं।’ 

छलफलमा डा. भगवान कोइरालाले अध्यादेश ल्याएर भए पनि तत्काल ‘सेन्ट्रल फर डिजिज् कन्ट्रोल (सिडिसी) को अवधारणा लागू गर्न सुझाव दिएका थिए। 

त्यस्तै डा. दिव्या सिंहले आवश्यकताअनुसार जोखिम क्षेत्रको पहिचान गर्ने र धेरै संक्रमित भएका ठाउँमा सिल, लकडाउन गर्दै जानुपर्ने धारणा राखेकी थिइन्। 

त्यस्तै डा. समिरमणि दीक्षितलगायतले कम्तीमा दुई साताजति कडाखालको लकडाउन गर्नुपर्ने धारणा राखेका थिए। 

चैत ११ देखि सुरु भएको लकडाउन सरकारले साउन ६ गते रातिदेखि अन्त्य गरेको हो। त्यसपछि पनि कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ र मृत्यु पनि भइरहेको छ। 

अहिलेसम्म नेपालमा २१ हजार ९ जनामा संक्रमण पुष्टि भइसकेको छ। ५८ जनाको मृत्यु भइसकेको छ। 

काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमण बढिरहेको छ। मंगलबारमात्रै ६२ जनामा संक्रमण पुष्टि भएसँगै ७ सय २७ जना संक्रमित भइसकेका छन्। 


Leave a Reply

Your email address will not be published.