लकडाउनबारे कुनै निर्णय भएको छैन, विज्ञसँग परामर्शमात्र भएको हो : प्रधानमन्त्री कार्यालय

लकडाउनबारे कुनै निर्णय भएको छैन, विज्ञसँग परामर्शमात्र भएको हो : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार दिउँसो प्रधानमन्त्री केपी ओली, विपक्षी दलका नेता तथा स्वास्थ्यसम्बद्ध विज्ञहरूसँग छलफलमात्र भएको जनाएको छ। 

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार विज्ञहरूसँग छलफल भए पनि लकडाउनबारे कुनै किसिमको निर्णय गरिहाल्ने परिस्थितमा सरकार छैन। 

‘विज्ञहरूको सुझाव ग्रहण भएको छ, आवश्यकताअनुसार सरकारले सुझावलाई कार्यान्वयन गर्न सक्छ,’ गुरागाईंले भने। 

छलफलमा सहभागी एक चिकित्सकका अनुसार प्रधानमन्त्रीकहाँ दुई थरीका राय गएका छन्। 

कसैले दुई साता लकडाउन गर्नुपर्ने विकल्प दिएका छन् भने कसैले क्षेत्रगत तथा तहगत रुपमा लकडाउन गर्नुपर्ने सुझाव दिएका छन्। अधिकांश सुझाव दिने विज्ञले तहगत, क्षेत्रगत तथा जिल्लागत रुपमा लकडाउनलाई जारी राख्न सकिने तर पूरै देश लकडाउन गरेर समस्या समाधान नहुनेतर्फ राय पेश गरेका छन्। 

‘कोरोना संक्रमणदर अहिले जुन रुपमा फैलिएको छ, त्यो लकडाउन गर्दैमा समाधान हुने अवस्था छैन,’ छलफलमा राय दिएका एक वरिष्ठ डाक्टरले भने, ‘कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षण बढीभन्दा बढी गर्न सुझाव दिइएको छ।’ 

अहिले लकडाउन तुरुन्त जारी गर्दा जनजीविकामा असहज हुने भन्दै सहभागीहरूले स्वास्थ्य मन्त्रालयले तोकेको ‘प्रोटोकल’ पालना गर्नुपर्नेमा जोड दिएका छन्। जनमानसको बानी व्यहोरा सुधार्न निर्मम रुपमा प्रस्तुत हुन विज्ञले सुझाव दिएका छन्।

‘मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र सामाजिक दूरी कम गर्ने काम एकदमै उल्लंघन भएको छ,’ ती डाक्टरले भने, ‘यी कार्यमा निर्मम भएर प्रस्तुत भए संक्रमणको दर घट्छ भन्ने राय दिएका छौं।’  

जवाफमा प्रधानमन्त्री ओलीले राय सुझावलाई सरकारले ग्रहण गर्ने बताए। अस्पतालहरूको तयारी, सुविधा बृद्धि गर्ने तथा परीक्षणलाई चुस्त बनाउने काममा सरकार लागिरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.