सुनसरीका तीन पालिकामा लकडाउन

सुनसरीका तीन पालिकामा लकडाउन

एकै दिन सुनसरीका तीन पालिकामा लकडाउन घोषणा गरिएको छ। ति मध्ये इनरुवा  नगरपालिका र इटहरी उपमहानगरपालिकामा ५ दिनका लागि लकडाउन घोषणा गरिएको छ भने दुहवी नगरपालिका सील गरेर अनिश्चितकालका लागि विशेष सतर्कता अपनाउने भनिएको छ। 

सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा हालसम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगर प्रमुख राजन मेहेताले कोरोना समुदायमा पुगिसकेको एकिन भएरै लकडाउन गर्नु परेको बताए। उनकाअनुसार सीमा नजिक रहेको पालिका भएको हुँदा जोखिम नियन्त्रण गर्न लकडाउ गर्नुपरेको हो।

इनरुवा बजारभित्र अतिआवश्यकीय सवारीलाई मात्र प्रवेश दिइने छ भने राजमार्गका सवारीलाई रोक्न निधेष गरिएको छ। त्यस्तै बजार भित्रका स्वास्थ्य, खाद्यान्न र तरकारी पसललाई मात्र सिमित व्यक्ति राखेर बेच्न अनुमती दिइएको छ। त्यस्तै दुधको गाडीलाई गुड्न दिइने छ। 

यता कोशी र पूर्वपश्चिम राजमार्गको संगमस्थल रहेको इटहरी बजार क्षेत्रमा कडा रुपमा ५ दिनसम्म लकडाउन गर्ने घोषण भएअनुसार अनावश्यक काममा हिंड्नेलाई प्रहरीले पक्राउ गरि कारबाही गर्ने भएको छ।

मेयर द्वारिकलाल चौधरीले दुहवी खनार क्षेत्रका ठूला औद्योगीक क्षेत्रबाहेक इटहरी बजारमा पूर्णरुपमा लकडाउन गर्ने जानकारी दिएका छन्। 

चौधरीका अनुसार यसअघि भएको लकडाउन जस्तो सामान्य लकडाउन हुनेछैन। इटहरी उपमहानगरपालिकाका कर्मचारीसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। 

थव स्वाब दिएकाहरूको समेत रिपोर्ट आउने क्रम जारी छ। इटहरी उपमहानगरपालिकाले यस अघि नै सार्वजनिक सुचना जारी गरि अतिआवश्यकबाहेकका नगरका सेवा ठप्प पारेको छ।  

त्यस्तै सुनसरीकै दुहवी नगरपालिकामा कार्यरत एक कर्मचारीसहित चारजनामा कोरोना संक्रमण भेटिएपछि कार्यालय सील गरिएको मेयर वेदनारायण गच्छदारले जानकारी दिएका छन्। बजारमा कडा निगरानी गर्ने भन्दै औषधी र खाद्यान्नका पसलहरू बन्द गर्ने निर्णय भएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले भने अवस्था भयावह भइनसकेको भन्दै पालिकातहमा समन्वय जारी राखि संक्रमण कम गर्ने उपाय अवलम्बन गरिरहेको बताएको छ। उनले सुनसरीका सबै पालिकामा नियमित समन्वय भइरहेको र मुख्य सुनसरीको दक्षिणी क्षेत्रका पालिकामा विशेष निगरानी राखि नेपाल प्रहरी र शसस्त्रको संख्या बढाइएको जानकारी दिए। 

आज साँझसम्मको प्रदेश १ को तथ्याङ्‌क अनुसार एकै दिन ४३ जनामा कोरोना संक्रमण फेला परेको छ। हालसम्म प्रदेश १मा ११ सय ६४ जनामा कोरोना संक्रमण भेटिएको छ भने ८ सय २८ जना निको भएर घर गएका छन्।


Leave a Reply

Your email address will not be published.