पाल्पा बन्यो कोरोना मुक्त जिल्ला
प्रदेश ५ को पहाडी जिल्ला पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ। रम्भा गाँउपालिकाका चारजना कोरोना संक्रमितहरू लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरबाट डिस्चार्ज भएसँगै पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
उनीहरूमा कुनै लक्षण नदेखिएपछि पिसिआर परीक्षण नगरी घर पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्लामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएका मध्ये ५ सय ६० जना निको भएर घर फर्किसकेका छन्। संक्रमित पूर्वखोला गाउँपालिकाका एक जनाको भने मृत्यु भइसकेको छ।
जिल्लामा हालसम्म ३ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो। संक्रमितमध्ये ५ सय १५ जना पुरुष र ४६ जना महिला थिए।
सबैभन्दा बढी संक्रमित पूर्वखोला गाउँपालिकामा भेटिएका थिए। पूर्वखोला गाउँपालिकामा ४ सय ३३ जना बिदेशबाट फर्किएकाहरूको परीक्षण गरिएकोमा १ सय ६० जनामा संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए।
यसैगरि सबैभन्दा कम रिव्दीकोट गाउँपालिकामा संक्रमण देखिएको थियो। रिव्दीकोटमा १ सय २६ जनाको परीक्षण भएकोमा ५ जना संक्रमित भेटिएका थिए।
यसै गरि बिदेशबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षणको क्रममा रामपुर नगरपालिकामा ५ सय ८७ जनाको परीक्षण गरेकोमा १ सय १७ जनाको पोजिटिभ नतिजा आएको थियो।
स्वास्थ्य परीक्षणको क्रममा माथागढी गाउँपालिका भित्र ३ सय २२ जनामा ३० जनामा संक्रमण भेटिएका थिए। रैनादेवीछहरा गाउँपालिकामा ६ सय ३२ जनाको परीक्षण भएकोमा ३९ जना संक्रमित भेटिएका थिए।
रम्भा गाउँपालिकामा २ सय ५ जनाको परीक्षण भएकोमा ४४ जना संक्रमित भेटिएका थिए। बगनासकाली गाउँपालिका ३ सय २१ जनाको परीक्षण भएकोमा ४२ जनाको कोरोना पोजिटिभ भेटिएको थियो।
तिनाउँ गाउँपालिकामा १ सय ९९ जनामा परीक्षण गरिएकोमा ८ जना संक्रमित, निस्दी गाउँपालिकामा ३ सय ३२ जनामा पीसीआर परीक्षण भएकोमा ९९ जनाको पोजिटिभ र तानसेन नगरपालिकामा ६ सय ३६ जनामा परीक्षण भएकोमा १४ जनामा मात्र संक्रमण भेटिएको थियो। यसैगरी सदरमरकाम तानसेनको पाल्पा अस्पतालमा १ सय ६ जनाको परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको थियो।
समुदाय स्तरका १ सय १८ जनाको पिसिआर परीक्षण भएकोमा सबै जनाको रिपोट नेजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।