नेपालगन्ज कारागारका ५ प्रहरीसँगै ७ कैदीवन्दीमा संक्रमण

नेपालगन्ज कारागारका ५ प्रहरीसँगै ७ कैदीवन्दीमा संक्रमण

बाँकेमा कोरोना भाइरसको प्रभाव बढ्दै गएको छ। मंगलबार नेपालगन्ज कारागारमा कार्यरत ५ प्रहरी जवान, वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत १ प्रहरी र ७ कैदी बन्दी गरी १३ जनामा कोरोना संक्रमण देखिएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत साउन १८ गते नेपालगन्ज कारागारबाट उनिहरूको स्वाब संकलन गरीएको थियो।

स्वाब संकलन गरी भेरीमा परीक्षण गरीएकोमा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। संक्रमित ६ जना प्रहरीमध्ये २ जना महिला र एकजना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी जवान रहेका छन्। 

संक्रमित प्रहरी र कैदीवन्दीलाई कृषि तालिम केन्द्र खजुराको आइसोलेशनमा राख्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।

मंगलबारको परीक्षणमा दाङ लमही-५ का ३५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ। यसैबिच बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार बढ्दै जान थालेपछि गत आइतबारदेखि आजसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर आउँदो शनिबार रातीसम्म पु-याइएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएकोले मंगलबार बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा आउँदो शनिबार राती १२ बजे सम्मकालागि लम्ब्याउने निर्णय गरेको जानकारी दिए।


Leave a Reply

Your email address will not be published.