परीक्षण बढाउन पोखरामा नयाँ मेसिन, चार घन्टा लाग्ने काम अब ३५ मिनेटमै
मेसिन पूर्ण क्षमतामा चलाउँदा पनि स्वाब पेन्डिङमा रहन थाले।
घर जाने दिन कुर्दाकुर्दा कति क्वारेन्टाइनबाटै संक्रमित बने।
पोखराको क्षेत्रीय अस्पतालको प्रयोगशालामा खटिएका प्राविधिकलाई पनि फुर्सद थिएन।
बिहान झिसमिसेमा प्रयोगशाला आएर मध्यराति होटल फर्किन्थे। कोही घरै जान्थे।
यो जेठ महिनातिरको कुरा हो।
एकातिर स्वाब पेन्डिङमा रहने, अर्कोतिर क्वारेन्टाइन खर्च बढिरहने भएपछि प्रदेशका विभिन्न तीन जिल्लाका पालिकाले आफैं पिसिआर किन्नेसम्मको निर्णय गरे।
त्यसपछि प्रदेश सरकारले प्रदेश क्षयरोग केन्द्रमा नयाँ पिसिआर मेसिन जडान गर्यो।
अहिले गण्डकी प्रदेशमा एउटा पनि स्वाब पेन्डिङमा रहँदैन। क्षयरोग केन्द्र र क्षेत्रीय अस्पतालमा रहेको मेसिनबाट अहिले दैनिक तीन सय बढी स्वाब परीक्षण हुँदै आएको छ।
प्रदेश क्षयरोग केन्द्रमा सोमबार ‘आरएनए अटो एक्सट्याक्टर मेसिन’ जडान भएसँगै गण्डकीमा कोरोना परीक्षण क्षमता थपिएको छ। प्राविधिकले चार घन्टाभन्दा बढी समय लगाएर गर्दै आएको भाइरसको आरएनए बडी टुक्रा पार्ने काम मेसिनले ३५ देखि ४० मिनेटमा गर्न सक्छ।
यो मेसिन जडान भएसँगै काममा सहज महशुस भइरहेको चार महिनादेखि परीक्षणमा खटिएकी ल्याब टेक्निसियन सुभद्रा दुलाल बताउँछिन्।
‘अप्ठेरो समय पनि पार गरियो। अहिले अटो एक्सट्याक्टर मेसिन जडान भयो,’ दुलाल भन्छिन्, ‘अब दुखका दिनतिर फर्किनु नपर्ने भयो र परीक्षण क्षमता पनि बढ्यो।’
अब कोरोना भए÷नभएको रिपोर्ट एकदिनमै आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन्। उनले भनिन्, ‘अब अघिल्लो दिन आएको स्वाबको रिपोर्ट भोलिपल्ट दिन सक्छौं।’ पछिल्लो समय स्वाब लिएको तीन दिनमा रिपोर्ट दिने गरिएकोमा अहिले परीक्षणको क्षमता बढेको सुवेदीले बताइन्।
स्वास्थ्य सेवा विभागले गण्डकी प्रदेशलाई पठाएको मेसिन क्षयरोग केन्द्रमा स्थापना गरिएको हो। संकलन भएको स्वाब प्रयोगशाला पुगेपछि सिधै परीक्षण गरिँदैन। सुरुआती प्रक्रिया पुर्याएर भाइरसभित्रको आरएनए निकालेपछि मात्र त्यसलाई पिसिआर मेसिनमा हालिन्छ।
आणुवंशिक विज्ञ श्रीराम बास्तोला अटो एक्सट्याक्टर मेसिनले कोरोना परीक्षणको संख्या बढाउनुका साथै परीक्षणमा सहज हुने बताउँछन्। उनले भने, ‘पिसिआर मेसिनमा हाल्नु पहिला भाइरसलाई ब्रेक गर्नुपर्छ। स्वाब नै पिसिआर मेसिनमा हाल्ने होइन। अटो एक्सट्याक्टर मेसिनले आरएनएलाई लिकुइड बनाउँछ। त्यसपछि बल्ल परीक्षण गर्ने हो। नयाँ मेसिनले काम छिटो हुन्छ।’
कुनै प्राविधिक समस्या नभए प्रयोगशालाले पाँच घन्टामा कोरोना परीक्षणको रिपोर्ट दिन सक्ने बास्तोलाले बताए।
‘बाहिर पाँच घन्टामा रिपोर्ट दिन्छम् भने पनि काम गर्दा व्यावहारिक रुपमा त्यस्तो हुँदैन। प्राविधिक समस्या नभएचाहिँ त्यो सम्भव छ,’ उनले भने, ‘मेसिनलाई लोड पनि पुग्नुपर्ने हुन्छ। एउटामात्रै नमुना भएर परीक्षण गर्ने भन्ने हुँदैन।’
आणुवंशिक विज्ञ बास्तोला हाल वीर अस्पतालमा कोरोना परीक्षणका लागि खटिएका छन्। चैत तेस्रो हप्ता पिसिआर मेसिन लिएर पोखरा आएका उनी दुई महिना कोरोना परीक्षणका लागि पोखरा बसेर त्यसपछि काठमाडौं फर्किएका हुन्।
पोखराका दुवै ल्याबमा गरेर हाल दैनिक तीन सय बढी स्वाब परीक्षण हुँदै आएको निमित्त निर्देशक सुवेदीले बताइन्। प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरेर कोरोना परीक्षणका लागि २८ प्राविधिक खटिएका छन्।
क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर डेढ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो। क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ।
पोखरास्थित प्रयोगशालाबाट रिपोर्ट ढिलो आउन थालेपछि स्याङ्जा, गोरखा र तनहुँका पालिकाले आफैं पिसिआर मेसिन किनेर सञ्चालन गर्ने निर्णय गरेका थिए। पछि प्रदेश सरकारले नयाँ मेसिन ल्याएपछि जिल्लाका पालिका पछि हटे। पिसिआर मेसिन आएपछि विभिन्न जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई पोखरा बोलाइएको थियो।
गण्डकीमा मंगलबारसम्म २५ हजार सात सय ९ वटा स्वाब परीक्षण भइसकेको छ।
तीमध्ये १५ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। संक्रमितमध्ये १३ सय
५० जना निको भएर घर फर्किसकेका छन्। हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ।
मृतकमध्ये दुई जना स्याङ्जा र बाँकी दुई जना बागलुङ र गोरखाका हुन्।
