पुल छैन, नाथपट्टीवासीलाई जहिल्यै जोखिम

पुल छैन, नाथपट्टीवासीलाई जहिल्यै जोखिम

धनुषाको सहिदनगर नगरपालिकाको नाथपट्टीका स्थानीयलाई आफ्नै नगरपालिकाको मुकामसम्म पुग्न सकस परेको छ। हिउँदमा खासै समस्या नभए पनि वर्षामा उनीहरू आफ्नै पालिकाको मुकामसँगको सम्पर्कबाट टाढिन्छन्। 

नगरपालिकाको मुकाम यदुकोहा र नाथपट्टीबीचमा पर्ने बछराजा नदीमा पुल निर्माण नभएपछि उनीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। नदीको चौडाइ पनि धेरै छैन। स्थानीयहरूका अनुसार नदी मुस्किलले ७–८ मिटर चौडा छ। तर, वर्षामा पानी वेग तीव्र भएपछि आवतजावत गर्न सहज छैन, त्यहाँ।

नदीमा पुल नभएपछि स्थानीय युवाहरूले वैकल्पिक उपाय अपनाएका छन्। आवतजावत गर्न उनीहरूले नदीमा बाँसको अस्थायी पुल (लचका) निर्माण गरेका छन्। युवाहरूले आफ्नै पहलमा वैकल्पिक उपाय अपनाएपछि आवतजावतमा केही सहजता भए पनि जोखिम ज्यूँको त्यूँ छ। 

बाँसले तयार पारिएको वैकल्पिक उपाय जतिखेर पनि पानीको बेगमा बग्नसक्ने खतरा रहेको स्थानीयहरू बताउँछन्।

यदुकोहा र नाथपट्टी जोड्ने बछराजा नदीमा पुल निर्माणदेखि वैकल्पिक उपाय खोज्नतर्फ कसैले ध्यान नदिएको स्थानीय पुष्पेन्द्र गोइत यादव बताउँछन्। नदीमा पुलका साथै कुनै पनि वैकल्पिक बाटो नभएपछि नाथपट्टीका स्थानीयलाई जोखिम मोलेर नगरपालिकाको मुकाम यदुकोहासम्म पुग्नुपर्ने बाध्यता रहेको उनले बताए।

‘नयाँ पुल निर्माणको क्रममा छ, तर पुल निर्माण नभएसम्म आवतजावत गर्न वैकल्पिक उपायतर्फ सरोकारवालाले ध्यान दिनुपथ्र्याे,’ उनी भन्छन्, ‘तर, आफूलाई विकासप्रेमी भन्ने नेतादेखि सडक विभागसमेत ध्यान दिन सकेको छैन।’ 

स्थानीय युवाले आफ्नै पहलमा बाँस ठड्याएर वैकल्पिक उपाय अपनाए पनि नगरपालिकाले यसतर्फ चासो नदिएको उनको भनाइ छ।

सात मिटर चौडा नदीमा दुई वर्षअघि सुरु भएको पुल निर्माण अझै पूरा हुन नसकेको अर्का स्थानीय सर्वजित यादवले बताए। पुल निर्माणतर्फ सरोकारवाला निकाय र ठेकेदारसमेत ढिलाइ गरेको उनको भनाइ छ।

‘नदीमा पुल निर्माण हुनसकेको छैन, वर्षामा पानीको बेगका कारण नदी तर्न सकिन्न,’ उनले भने, ‘अहिले स्थानीय युवाले बाँसको अस्थायी पुल बनाइदिएको छ, तर जोखिम भने सकिएको छैन।’ 

खासै ठूलो नदी नभए पनि पुल नहुँदा वर्षातको मौसममा आवतजावत गर्न समस्या हुने गरेको उनले सुनाए।


Leave a Reply

Your email address will not be published.