राजधानीमा कोरोनाको धुपः बेरोकटोक मान्छे ओसार्ने सेटिङमा प्रहरी, यातायात व्यवसायी र साझा 

राजधानीमा कोरोनाको धुपः बेरोकटोक मान्छे ओसार्ने सेटिङमा प्रहरी, यातायात व्यवसायी र साझा 

पूर्वी नाका साँगा र पश्चिमी नाका नागढुङ्गाबाट काठमाडौं उपत्यका छिरेका ४० जनामा कोरोनाभाइरस संक्रमण रहेको हिजो पुष्टि भयो।

स्वास्थ्य मन्त्रालयका अनुसार नागढुंगा नाकामा संकलित ६ हजार ६४ नमुनामध्ये १६, फर्पिङमा लिइएको १ हजार ३०७ मध्ये ११ र साँगामा संकलन गरिएको ३ हजार ४८२ स्वाबमध्ये १३ गरी ४० जनामा संक्रमण देखिएको हो।

नाकामै संकलित स्वाबमै देखिएको यो संक्रमण दरले राज्यको निगरानीमा नपरी काठमाडौं छिरेका हजारौंमा के कस्तो होला भनेर विश्मयभूत हुनपर्ने अवस्था छ। आयोमेलले पश्चिम र पूर्व नाकाबाट परीक्षणविनै राजधानीमा भइरहेको निर्वाध आगमनमाथि केही दिनयता निगरानी गरिरहेको थियो। अंगदबहादुर सिंहसौरभ रानाभाटको रिपोर्टः

सरकारले लकडाउन अन्त्य गर्दा पनि लामो दुरीका सवारी साधन(एक जिल्लाबाट अर्को जिल्ला) नचल्ने नियम कायम रह्यो।

अत्यावश्यकका हकमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र छिर्न पाउने व्यवस्था राखियो। नियम पुर्‌याएर आउन खोज्नेले वडाको सिफारिसदेखि जिल्ला प्रशासनको अनुमतिसम्मको लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

तर त्यसलाई झन्झट मान्नेहरुका लागि पनि उपाय रहेछन्, जसको भरमार प्रयोगले यतिबेला राजधानी उपत्यका कोरोनाको नयाँ खतरनाक इपिसेन्टर बनेको छ।

र, दैनिक सय हाराहारीमा संक्रमित संख्या बढिरहँदा पनि आम मानिसका लागि कष्टकर तर त्यो दुर्दशाबाट फाइदा उठाउनेका लागि लाभदायी उक्त उपक्रम चलिरहेको छ। 

दृश्य १
स्थानः साँगा, भक्तपुर
मीतिः २० साउन, २०७७
समयः दिउँसो ३ बजे

पूर्वबाट आएका बस र सुमो चेक प्वाइन्ट भन्दा करिब १ किलोमिटर पर रोकिएका छन्। 

बस तथा सुमोभित्र मानिस कोचाकोचै छन्, केही यात्रु ठेलाठेलमा उभिएका छन्, कुनै समाजिक दुरी देखिन्न। 

केही पर साझा यातायातको लामा लामा हरिया गाडी तेर्सिएका छन्। कन्डक्टरहरु कष्टकर यात्राबाट क्लान्त भएका यात्रुहरुलाई बोलाउँदैछन्–ल ल ल, काठमाडौं, काठमाडौं, काठमाडौं। 

सबै काठमाडौं नै जाने धुनमा। नभए गाउँ छाडेर यत्रो जात्रा किन उठाउनु? 

यात्रुहरुको पनि चलाखी छ। उनीहरु केही परै ओर्लेर हिंडछन् र प्रतीक्षारत साझामा चढ्छन्। 

कुनै समय साझा यातायातले राजधानीमा सापेक्ष सुविधासहितको नयाँ परिचय बनाएको हो। तर लकडाउन खुलेपछिको दौडादौडमा साझा अरुसरह भइसकेको छ।

ठेलमठेलमा यात्रुहरु ढोकामा झुण्डन् पनि तयार छन्। कन्डक्टरहरु उनीहरुलाई मरिकुच्चे कोेचेर सिठ्ठी फुक्छन्।

यातायात व्यवसायीहरुको माग अनुसार सरकारले लकडाउनको घाटा सोधभर्ना र सामाजिक दुरी कायम गराउने शर्तमा भाडा बढाउने सहमति दियो। तर त्यसको पालनामा सहकारी मोडलमा चलाइएको साझाले समेत टेरपुच्छर लगाएको देखिएन। 

सरकारले लकडाउनयता अहिलेसम्म एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात चलाउन अनुमति दिइसकेको अवस्था छैन।

साझा यातायात चाहिं उपत्यका सीमा नाघेर साँगा फन्को लगाइरहेको छ र कोरोना कहरमा संवदेनशीलता देखाउनबाट चुकिरहेको छ।  

साँगामा यात्रुको भिडभाड देखेर जिल्ल परेका छन् स्थानीयवासी विकास विष्ट।

‘अरु सार्वजनिक यातायात एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने, जाँदा कोरोना सर्ने। साझाले जे जस्तो गरेपनि हुने?’ स्थानीय विष्टले भने, ‘यस्तै तरिका हो र गाडी फेर्दैमा उपत्यका प्रवेश दिने हो भने काठमाडौंका साथै देश नै सोतर हुन्छ।’

सरकारी स्वामित्व भएको साझाले समेत मापदण्ड पूरा नगरेकोमा उनको गुनासो छ।

‘साझाले न मापदण्ड पुरा गरेको छ न त सुरक्षा व्यवस्था अपनाएको छ, सरकारले तोकेको भन्दा बढी भाडा असुलेर  जनताको ढाड सेक्ने काम गरिरहेको छ’ उनी भन्छन्।

काठमाडौंबाट साँगा पुग्न सामान्य अवस्थामा ४५ रुपैयाँ लाग्थ्यो तर, अहिले साझाले ९५ रुपैयाँ भाडा असुलिरहेको छ।

पनौति–११ का स्थानीय दयाराम थापाको गुनासो पनि उस्तै छ। 

‘बस तथा सुमोले प्रहरी चेक पोष्टभन्दा अलि पर ल्याएर छोड्छ, साझाले आएर सिट भरेर त लिन्छ नै उभ्याएर समेत लैजान्छ’, थापा भन्छन्, ‘चेक पोष्टमा न प्रहरीले चेक गर्छ न त यात्रुले नै सावधानी अपनाउँछन्।’

त्यत्तिमात्रै होइन, एम्बुलेन्सले पनि यात्रु ओसारिरहेका छन्। भाडादरभन्दा तीनचार गुणा बढीसम्म भाडा लिएर।

‘बस अनि सुमोमात्रै होइन, यहाँ त एम्बुलेन्स चढेर पनि मान्छे आइरहेका छन्’ उनले भने ‘त्यो पनि बिरामी बोक्नेभन्दा महंगो भाडा छ।’  

चेकपोष्टमा प्रहरीले यात्रु तथा बस सञ्चालकले सामाजिक दुरी कायम गरे नगरेको हेर्दैनन्। न त, संक्रमणग्रस्त ठाउँबाट आए–नआएको यकिन गर्छन्। 

‘साझाले बसभरि यात्रु ओसार्दा कोरोना नलाग्ने, अरुले एकदुई जना बोक्दा पनि कोरोना सर्ने?’ थापा भन्छन्, ‘गाडी छिर्न नदिने मान्छे धमाधम छिर्न दिने, कोरोना गाडीमा मात्रै हो कि मान्छेमा पनि हो?’ 

सिन्धुलीका बिमल पोखरेल भाइको उपचारका लागि धुलिखेल आएका थिए।

साँगामा करिब पाँच घन्टा बिताएका उनी भन्छन्, ‘म यहीँ हुँदासम्म दुई चार हजार मान्छे काठमाडौं गइसके, अझैंै आइरहेका छन्।’
सिन्धुलीबाट अरु समयमा काठमाडौं पुग्न तीन सय रुपैंया लाग्छ। अहिले आठ सयभन्दा बढी छ। 

पोखरलेले धुलिखेलसम्म पुग्नका लागि सिन्धुलीको तीनपाटन गाउँपालिकाबाट पाँचवटा गाडी फेरे। 

‘बसभरि यात्रु खाँदेर ल्याएको छ न स्यानीटाइजर छ न, सामाजिक दुरी नै कायम गरिएको छ, पोखरेल भन्छन्, ‘ट्राफिक, प्रहरी कसैले बस, जीप हेर्दैनन्। नाकामा पनि त्यस्तो चेक हुँदैन।’ 

उनले साँगा नाकाबाट परीक्षणबिनै उपत्यका भित्रिने सर्वसाधारणले जोखिम बढाएको बताए।

यसरबारेमा आयोमेलले साँगा चेक प्वाइन्टका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक विनोद धिताललाई सोधेको थियो। 

उनले पनि त्यस्तै गुनासो गरे, ‘न गाडीवालाले भनेको मान्छन्, न चढेका यात्रुले।’ 

सुरुमा त उनले साझाको बारेमा केही भनेनन्। 

प्रश्न थपेपछि चाहिं उनले साझालाई अब चेक गर्ने बताए। ‘साझाले सामाजिक दुरी कायम नगरी यात्रु ओसारे नओसारेको चेक गर्छौ र नियम विपरीत भए कारबाही गर्छाैँ,’ उनले सजिलो जवाफ दिए। नाकैमुनिको दृश्य चाहिं अहिलेसम्म नदेखेको भान पार्न खोजे।  जबकि उनी बसेकै चेकप्वाइन्टबाट साझाले दिनमा २० फन्को लाउँछ। 

आयोमेल टिमले एकघण्टा साँगा चेकप्वाइन्टमा बिताउँदा, नौ वटा साझा बसले सिटभरि मान्छे हाले। त्यत्तिले नपुगेर बसको प्यासेजमा खुट्टा टेक्न गाह्रो हुने गरी मान्छे उभ्याएरै राजधानी छिराए। 

कार्यालयबाहिर उभ्याएर त्यो दृश्य देखाएपछि प्रहरी सहायक निरीक्षक धितालले बल्ल भने ‘अब हामी हेर्छौँ।’ 

यो नाटकीय अवस्थाबीच पनि धितालले एउटा तथ्यांक दिए–साँगा चेक प्वाइन्टबाटे मंगलबार विना पास आएका २५ चारपाङग्रे

सवारीसाधका ६५ यात्रु र १ सय ८ दुई पाङ्ग्रेका १ सय ८३ जना गरी २ सय ४८ जनालाई फर्काइयो। 

पूर्वी जिल्ला तथा तराईबाट आउनेहरुको मुख्य नाका साँगा हो। 

त्यहीँबाट निर्वाध मानिस छिरिरहेका छन्। त्यसले काठमाडौंमात्रै होइन, सबैलाई जोखिम बढाइरहेको छ। भाडामा लुट छ। 

सिन्धुपाल्चोककी मममाया गिरीले साँगासम्म पुग्न तीनवटा गाडी फेरिसकेकी रहेछिन। काठमाडौं पुग्न उनलाई अझैं एउटा बस चढ्नुपर्ने छ। 

‘गाडीमा कहाँ त्यस्तो हुनु, कोचाकोच हुन्छ। उभिने ठाउँ नि हुन्न’ उनले सुनाइन् ‘सयको भाडा २ सयभन्दा बढी लिन्छन्।’ 
७० वर्षकी उनको खुट्टा भाँचिएको छ। उपचारका लागि काठमाडौं आउन थालेकी हुन्। 

दृश्य २ 
स्थानः झ्याप्ले खोला, धादिङ
मीतिः २० साउन, २०२०
समयः मध्यान्ह १२ बजे 

काठमाडौं छिर्ने पश्चिमी नाका–झ्याप्ले खोला र नागढुंगा।

आयोमेल टिम धादिङको झ्याप्ले खोला पुग्दा चेक पोष्टमा प्रहरी सहायक निरीक्षकको टोली काठमाडौं छिर्न खोजेका सवारी र त्यसका यात्रुको चेकजाँच गरिरहेका थिए। सवारी पास हेर्दै थिए। 

तर, पैदल हिँडेर आउनेहरुलाई भने कुनै रोकटोक थिएन। न कुनै सोधीखोजी अनि चेकजाँच। 

यहाँ पनि काठमाडौं छिर्ने गज्जबको काइदा छ, चेकपोस्टभन्दा केहीपरसम्म गाडीमा आउने। चेकपोस्टभन्दा परै ओर्लिने। 

हिँडेर आउनेलाई कसैले सोध्दैन। चेकप्वाइन्ट कटेपछि साझा अनि अरु गाडी पनि भेटिन्छन्। त्यसैमा चढ्ने अनि काठमाडौं आउने। 

मान्छे बोकेका ‘पासवाला’ गाडीको पनि उस्तै लर्काे हुन्छ। त्योभन्दा बढी प्रहरीलाई छलेर हिँडेर चेकपोस्ट कट्नेहरुको। 

दिउँसोमा त प्रहरीले गाडीमा कडाई गरेको छ तर, रातको समयमा गाडी र मान्छेको लाइन उस्तै हुन्छ। रातिमा प्रहरीको चेकजाँच पनि अलि कम हुन्छ।

झ्याप्ले खोलाका प्रहरी इन्चार्जले दैनिक कतिजना काठमाडौं छिर्छन् भन्ने तथ्याङ्क दिन नमिल्ने बताए। पास नभएकालाई भने फर्काउने गरेको उनले जानकारी दिए। 

‘हाम्रो काम पास हेर्ने र पठाउनेमात्रै होइन, तपाइँहरुलाई तथ्याङ्क दिने होइन’ उनले भने। 

झ्याप्ले खोलाका स्थानीय व्यापारीले प्रहरीले बस तथा माइक्रो रोक्ने गरेको भए पनि पैदल यात्रुलाई काठमाडौं जान दिने गरेको बताए। 

‘बिहान त्यो पल्लो डाँडामा काठमाडौं जानेको लर्कौ देखिन्छ, लुकिछिपी काठमाडौं कति जान्छन् कति’, उनले भने, ‘हिँड्न नसक्नेहरु सडकको बाटो आउँछन् हिँड्न सक्नेहरु लुकेर जान्छन्।’

उनी प्रहरी चेकप्वाइन्टको नजिकै बसेर नियालिरहेका छन्। ‘सोर्स फोर्स भएकाले त प्रहरीलाई फोन गराइरहेका हुन्छन्। आफै आएर प्रहरीसँग डिल गरेर मान्छे भित्र्याउँछन्’ उनले यस्तै देखेका छन्। 

धादिङका स्थानीय सुदिप तामाङले दिनमा सयौंको संख्यामा मानिस जंगलको बाटो प्रयोग गरेर काठमाडौं जाने गरेको बताए।

‘थानकोटमा चेक गरी जान नदिने भएकाले सबै हिँडेर जाने र चोरबाटोको प्रयोग गर्दै काठमाडौं पुग्छन्’ उनले भने, ‘दिनको करिब दुई हजार यात्रु काठमाडों भित्रिन्छन्।’

थानकोट प्रहरी प्रमुख हेमन्त विक्रम थापाले आफूहरुले नागढुङ्गाबाट अत्यावश्यक बाहेक पास नभएका अन्य कसैलाई पनि उपत्यका छिर्न नदिएको बताए।

‘लुकिछिपी जंगलको बाटो आउनेहरुले जोखिम बढाएका छन्, हामीले पास विना कसैलाई  उपत्यका छिर्न नदिने प्रयास गरेका छौं, पैदल यात्रुलाई पनि सोधीखोजी गरिरहेका छौं’ प्रहरी निरीक्षक थापाले भने।

आयोमेल टिम नागढुङ्गाबाट एक किलोमीटर वर आइसकेको थियो। त्यहीबेला जंगलको बाटो भएर उपत्यका छिर्दै गरेका केही युवा भेटिए। 

उनीहरु विद्यार्थी थिए। परीक्षा सन्चालन हुने हल्ला भएपछि काठमाडौं आउँदै थिए। 

धादिङको झ्याप्ले खोला चेकप्वाइन्टभन्दा केही पर बसबाट झरेर उनीहरु जंगलको बाटो एक डेढ घन्टा हिँडे। 

थानकोट चेकपोस्टपछि एउटा गाडी भेटियो। 

‘मौका मिले पछि कुरा गरौँला’ भन्दै उनीहरु गाडी चढे र, काठमाडौं छिरे।

मंगलबारसम्म उपत्यकामा ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमणे पुष्टि भइसकेको छ। 


Leave a Reply

Your email address will not be published.