सुनसरीमा आजदेखि निषेधाज्ञा जारी 

सुनसरीमा आजदेखि निषेधाज्ञा जारी 

सुनसरी जिल्ला प्रशासनले ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ। आज (बुधबार) राति १२ बजेपछि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको र त्यसलाई कडाइसाथ लागू गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले आयोमेललाई जानकारी दिए। 

प्रजिअ पोखरेलले स्थानीय तहले धमाधम लकडाउन गर्न थालेपछि अन्य पालिकाको जोखिम पनि उस्तै भएकाले प्रशासनले यो निर्णय गर्नुपरेको बताए। 

‘कारोना संक्रमणको जोखिम सर्वत्र उस्तै हो,’ उनले भने ‘एक ठाउँमा मात्र लकडाउन गरेर हुँदैन भनेर हामीले जिल्लाभर नै सचेतनाका लागि यो निर्णय लिएका हौं।’  

सुनसरीको करिब ६१ किलोमिटरको क्षेत्र भारतीय सीमासँग जोडिएको छ। खुला बोर्डरका कारण नेपाल छिर्नेको सम्भावना उच्च भएको हुँदा निषेधाज्ञाले थप सतर्क हुन सहयोग पुग्ने पोखरेको जिकिर छ। 

उनका अनुसार अब जिल्लाभित्र गुड्ने सवारीले अनिवार्य पास लिनुपर्नेछ। नेपाल सरकारले अत्यावश्यक मानेर सवारी र पेसामा आबद्ध व्यक्तिलाई भने रोकिने छैन। 

यसअघि इटहरी र धरान उपमहानगरपालिका, दुहबी र इनरुवा नगरपालिकाले समुदाय तहमा कोरोना फैलिएको निष्कर्षसहित लकडाउन गर्ने घोषणा गरिसकेका छन्।

लकडाउनको प्रभावस्वरुप इटहरी, इनरुवा र दुहबीमा बजार सुनसान बनेका छन्। सशस्त्र र नेपाल प्रहरी लकडाउन कार्यान्वयन गर्न सडकमा खटिएका छन्। धरानमा भने आज राती १२ बजेदेखि लकडाउन सुरु हुनेछ। 


Leave a Reply

Your email address will not be published.