पशुपति जोगाउने लडाइँको एउटा आमरण घाइते

पशुपति जोगाउने लडाइँको एउटा आमरण घाइते

एउटा जुनुन् थियो उनीभित्र, पशुपतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने।

पशुपतिका राम्रा तस्बिर र ऐतिहासिकता बटुलेर एउटा ‘संग्रहालय’ नै बनाउने सपना थियो। 

र, एकदिन सरकारले पशुपतिको ‘पौराणिकता’माथि एउटा भंयकर ‘आक्रमण’ गर्‍यो। 

‘पशुपति बचाउन’ अग्रमोर्चामा खटिएका उनको टाउकोमा ‘वाइसिएल’ले रड हाने। 

त्यसपछि उनी थलिए, कहिल्यै उठ्न नमिल्ने गरी। 

त्यही चोटका कारण ‘प्यारालाइसिस’ भएर हरिमान भन्डारी थलिएका छन्, ११ वर्षदेखि।  

र, पाशुपत क्षेत्रको एउटा गल्लीको अँध्यारो कोठाभित्र उनका ‘सपनाका तस्बिरहरू’ पनि असरल्ल ढलिरहेका छन्, निरश। 

पशुपतिको पुजारी फेर्ने विवाद र हरिमानहरू 

पशुपतिको उत्तरपट्टिको मुख्य गेटमा भूमेश्वर चोक छ। 

त्यही चोकबाट ५० मिटरजति हिँडेपछि हरिहरमान भण्डारीको घर आइपुग्छ। 

पाशुपत क्षेत्रभित्रको त्यो साँघुरो गल्लीभित्रको एउटा घर। सिँढी चढ्दै तेस्रो तलामा पुग्यौं।

तेस्रो तलाको सिँढी उक्लिनेबित्तिकै पहिलो कोठाको दायाँपट्टिको बिस्तारामा पल्टिरहेका थिए हरिहरमान। 

२०६६ सालमा तत्कालीन माओवादी सरकारले पशुपतिनाथ मन्दिरमा नेपाली भट्ट (मुख्य पुजारी) राख्ने भनेपछि भएको विवादमा मरणासन्न हुनेगरी कुटिएका थिए उनी। 

उनका दाइ केदारमान र हंशमान कर्माचार्य पनि त्यही झडपमा कुटिएका थिए। 

तत्कालीन माओवादी सरकारले पशुपतिमा भारतीय भट्टको सट्टा नेपाली नै मुख्य पुजारी राख्नुपर्छ भनेपछि हरिहरमानहरु विरोधमा उत्रिएका थिए। 

आदिगुरु शंकराचार्यका पालादेखि तान्त्रिक र वैदिक विधिबाट भारतीय भट्टले नै पशुपतिनाथको पूजा गर्दै आएका छन्। 

एकाएक नेपाली भट्ट राख्ने निर्णय भएपछि हरिहरमानहरू ‘सनातन संस्कृतिको नास गराउन लागेको’ भन्दै आन्दोलनमा उत्रिए। 
उनी पुशपतिका भण्डारे पनि हुन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), संस्कृतिमन्त्री गोपाल किराँतीको जोडबलले नेपाली भट्ट नै राख्ने निर्णय गरेपछि पशुपतिमा ठूलै विवाद चर्किएको थियो। 

२०६६ सालमा चार दिनसम्म नुवाकोटका विष्णु दाहाललाई अनुष्ठानमा राखिएको थियो। 

पशुपतिको भट्ट हुनका लागि चार दिनसम्म निराहार ब्रत बस्नुपर्ने र पछि विधिवत पूजाआजा गरी भित्र्याउने गरिन्छ। 

‘हामीले नेपाली भट्ट राख्नुहुँदैन भन्ने विरोध गरेका थिएनौं तर परम्परादेखि चलिआएको रीतिलाई एकाएक तोड्ने गरी निर्णय भएपछि हामी पशुपतिको संरक्षक भएका नाताले विरोध गरेका हौं,’ हरिहरमानका दाइ केदारमान भण्डारीले घटना स्मरण गराए, ‘चार दिनसम्म निराहार अनुष्ठानमा बस्नुपर्ने चलन रहे पनि हामीले त्यहाँ चाउचाउ र कुरकुरे खाएको भेट्टायौं। त्यतिमात्र होइन, सुटपाइन्ट र छालाको जुत्तासहित मन्दिर प्रवेश गर्न खोजेपछि झन् तनाव उत्पन्न भएको हो।’ 

त्यतिबेला तत्कालीन माओवादीका काठमाडौं जिल्ला इन्चार्ज हितमान शाक्यको नेतृत्वको वाइसिएल टोलीे पशुपतिमा भएको आन्दोलन दबाउन लागेको थियो। 

त्यहाँका स्थानीय र भण्डारीहरूसँग पराशर्म नै नगरी नेपाली भट्टलाई मन्दिरको गर्भगृहमा प्रवेश गराउन लागेपछि स्थानीय पनि आन्दोलित भएका थिए।

पशुपतिको सम्पत्तिदेखि मन्दिर संरक्षणको दायित्व भएका भण्डारीहरूले विधिविपरीत सरकारले काम गरेको भन्दै नेपाली भट्टलाई मन्दिरभित्र प्रवेश गर्न नदिन पशुपतिको मुख्य मन्दिरमा ताला नै लगायो।

चार दिनसम्म मन्दिर बन्द भएपछि पूजाआजा पनि रोकियो। वाईसिएलले बल प्रयोग गर्न खोजेपछि मुख्य द्वारमै भण्डारीहरूको तर्फबाट केदारमान, हरिहरमान भण्डारी र हंशमान कर्माचार्य अग्रमोर्चामा उत्रिएका थिए। 

माओवादी काठमाडौं जिल्ला इन्चार्ज हितमान नेतृत्वको टोलीले भण्डारीहरूको टाउकोमा लात्ति बर्सायो। 

केदारमान र हंशमानलाई टाउकोमा चोट लाग्यो। हरिहरमानको भने पूरै टाउको नै फुट्यो।

विवादले ठूलै रूप लिएपछि सरकार नेपाली भट्ट राख्ने निर्णयबाट फिर्ता भयो। 

भण्डारीहरूको जित त भयो, तर हरिहरमान भने मन्दिरसम्म पनि पुग्न नसक्ने गरी बिस्तारामै थलिए। 

तत्काल टाउकोको अप्रेशन गरेपछि केही महिनासम्म त हरिहरमान सामान्य नै थिए। 

तर, चोट गहिरो भएकाले उनको टाउकोमा रगत जम्दै गयो। 

‘पहिलो पटकको उपचारपछि त उनको अवस्था सामान्य नै थियो। तर, एक महिनापछि एकाएक बेहोश हुन थाले,’ केदारमानले सुनाए, ‘बोल्न र हिँड्न पनि नसक्ने भएपछि पुनः उपचारका लागि अस्पताल लग्यौं। टाउकोमा रगत जमेको रहेछ। उपचार गरे पनि पूर्ण रूपमा निको भएन।’

करिब १० वर्षसम्म विभिन्न थेरापी, औषधी उपचार गरेपछि अहिले हरिहरमान आफैं खाना खाने र शौचालयसम्म जाने भएका छन्। 
आयोमेल टोली पुग्दा पनि उनी ओछ्यानमै पल्टिएरहेका थिए। 

दाइ केदारमानसँग उनको अवस्थाबारे कुराकानी गर्दागर्दै हरिहरको आँखाबाट आँसु झरिरहेको थियो।
उनको शरीर प्यारालाइसिसले थलिएको छ। 

लामो समयको थेरापीपछि उनी अहिले अलि अलि हिँड्न सक्ने भएका छन्। तर, उनको बायाँ हात अहिले पनि राम्रोसँग चल्दैन। 

परिवारका सदस्यबाहेक अन्य बाहिरका मानिसलाई ठम्याउन मुस्किल पर्छ। बोली पनि फुट्दैन। परिवारका सदस्यले केही कुरा गरे पनि उनी मुन्टो हल्लाएर सहमति वा असहमति जनाउ दिन्छन्।

अनि भताभुङ् भयो हरिहरमानको जीवन

हरिहरमान ‘भण्डारी’ मात्र थिएनन्। 

उनी एक कुशल फोटोग्राफर पनि हुन्। 

सुत्ने कोठाको भित्ताभरि उनले खिचेका पशुपति क्षेत्रका विभिन्न तस्बिर टाँगिएका छन्। 

पशुपतिभित्र हुने हरेक सामाजिक क्रियाकलापको नेतृत्व उनी आफैं गर्थे । 

काठमाडौं स्काउटका प्रशिक्षक हुन् उनी। बेलाबेलामा स्काउटका सदस्यलाई प्रशिक्षण दिन गइरहन्थे। 

पशुपतिको अस्तित्व रक्षाकै लागि उभिँदा अहिले उनको शरीर ओछ्यानमै सीमित बनेको छ। 

‘सबै काममा आफैं दौडिन्थ्यो, उसले खिचेका फोटोहरू संग्रहित गरेर संग्रहालय नै बनाउँछु भन्थ्यो,’ केदारमानले भाइले सुनाएको योजना बताए। 

उनले पीडा पोखे, ‘पुर्खौंदेखि गर्दै आएको कर्तव्य निभाउँदा अहिले भाइको हालत यस्तो भयो, न राज्यले कुनै सहयोग गरेको छ, न त पशुपति क्षेत्र विकास कोषले।’

६ दाजुभाइको कमाइले हरिहरमानको उपचार भएको थियो।

१० वर्षको अवधिमा उपचारकै क्रममा झन्डै ४० लाख रुपैयाँ जति खर्च भइसकेको छ। 

अहिले पनि थेरापी र औषधोपचारमा करिब ७० हजार मासिक खर्च हुन्छ। 

श्रीमानको हालत यस्तो भएपछि हरिहरमानकी पत्नी कमाउन विदेशिएकी छन्। १० वर्षीय छोरा मामाघरमा बसेर पढ््दैछ। 

उनले खिचेका तस्बिरहरू संग्रह गरेर सुत्ने कोठामा राखेका छन्। 

दाजु केदारमानका अनुसार कहिले मध्यराति उठेर एक्लै आफूले खिचेका तस्बिर निकाल्छन्, नियाल्छन् र आँसु झार्दै फेरि बाकसभित्र थन्क्याछन्। 

हामी कुराकानी गरेर फर्किने बेलामा पनि हरिहरमान आफूले खिचेका तस्बिर नियालिरहेका थिए। 

पशुपतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछु भन्ने सपना बोकेका हरिहरमान त्यही पशुपतिको अस्तित्व रक्षालाई लड्दा ओछ्यानमा थलिएका छन्।

तत्कालीन अवस्थामा निर्णय फिर्ता लिए पनि त्यो आन्दोलनमा घाइते भएका भण्डारीहरूको अवस्था बुझ्न न प्रधानमन्त्री, न संस्कृतिमन्त्री न त पशुपति क्षेत्र विकास कोषका पदाधिकारी गए। 

अहिलेसम्म पनि उनको अवस्था के कस्तो छ भनेर बुझ्ने कोसिस पनि नगरेको परिवारका सदस्यहरू बताउँछन्। 

भण्डारीहरूको आफ्नै संस्कृति छ। मृत्युवरणपछि दाहसंस्कारको कुरा मात्र होइन, उनीहरूले बच्चा जन्माउन पनि पाशुपत क्षेत्रभन्दा बाहिर पाउँदैनन्। 

त्यहाँको पुरातात्तिवक सम्पदा र मन्दिरको सम्पत्ति रक्षाको दायित्व परापूर्वकालदेखि नै भण्डारीहरूकै हो। 
पशुपतिको विकासका लागि ल्याउने गुरुयोजनामा पनि हरेक पटक भण्डारीहरूकै थातथलोमाथि आक्रमण हुन्छ। 

२०४६ यता पटक–पटक ल्याइएका गुरुयोजनामा भण्डारी बस्तीकै कुरा उठ्छ। 

पशुपतिको विकासमा भण्डारीहरू नै बाधक भएको कोष र सरकारले आरोप लगाउँदै आएका छन्। भण्डारीहरू पनि पुर्खादेखि नै आफूहरूको जिम्मेवारी र हक रहेको भन्दै पशुपतिमाथि हुने हरेक प्रकारका षड्यन्त्रसँग डटेर लड्ने गरेका छन्। 

सरकारले हरेक पटक धार्मिक धरोहर र आस्थामाथि आक्रमण गरेर राजनीति गर्नुले पशुपतिको अस्तित्व नै संकटमा पर्दै गएको गुनासो भण्डारीहरूको छ। 


Leave a Reply

Your email address will not be published.