नीलबाराही नाच सुरु 

नीलबाराही नाच सुरु 

भक्तपुरको मध्यपुर थिमि बोडेको नीलबाराही नाच बुधबार रातिदेखि सुरु हुने भएको छ। तीन/दिन चार रातसम्म चल्ने यो नाच यसपर्ष भने राती १० बाट मात्रै सञ्चालन हुने छ।

नाचका मुख्य देवता नीलबाराहीको रुप धारण गर्ने प्रेमचन्द्र अदुवा श्रेष्ठका अनुसार नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरात्रीबाट सुरु हुने गर्छ। सात वर्षको उमेरदेखि हालसम्म निरन्तर नीलबाराही देवता बनेर नाच प्रदर्शन गर्दै आएका अदुवा श्रेष्ठका अनुसार नाचमा १९ जना देवताको सहभागिता रहने गरेको छ। 

नाचमा भैरव एकजना, बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, द्वारपाल दुईजना, गणेश चारजना गरी १९ जनाको सहभागिता रहने गर्छ।

नाच अवधिभर देवता बन्नका लागि एकजना सहयोगी हुनु पर्छ। यी सहयोगीहरू नाच अवधिभर देवतासँगै रहनु पर्नेहुन्छ। सहयोगीले देवताले भनेको सबै काम गरिदिनुका साथै मुकुट राख्ने, ल्याउने, देवतालाई बोक्नेसम्ममा सहयोग गर्नुपर्ने हुन्छ।

एकजना सहयोगी सागर अदुवा श्रेष्ठका अनुसार नाचको क्रममा बालिने सुकुन्दा निभ्न दिनुहुँदैन। निभेमा देवता बन्नेको पेट दुख्ने, बान्ता हुने धार्मिक विश्वास छ। 

देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्छ। भुँईमा बसाउन पाइदैन। देवता बन्नेले नाच अवधिभर मौन रहन पर्छ। बोल्नु हुँदैन। केही कुरा भन्नु परे इशारा गर्नुपर्छ।

मध्यपुर ठिमी नगरपालिका- ८ का अध्यक्ष देव कृष्ण मोया श्रेष्ठले नाच राती मात्र सञ्चालन गरिने बताए। कोरोना भाइरसका कारण दिउँसो यो नाच नदेखाउने निर्णय भएको उनले बताए।

दिउँसो नाच देखायो भने बाहिरबाट पनि हेर्न आउनेको भिडहुने भएकाले राती गर्ने निर्णय भएको उनको भनाई छ। राती १० बजेदेखि विहान ४ बजेसम्म नृत्य हुने श्रेष्ठले बताए।

बोडेमा नचाइने नीलबाराही नाच तान्त्रिक विधिमा आधारित रहेको बिश्वास गरिन्छ। किम्बदन्ती अनुसार नीलबाराही नाच सुरु हुने विषयमा एउटा कथा छ। 

किम्बदन्ती अनुसार बोडेको खेतमा काम गरिरहेको एकजना धों थरका व्यक्ति अपहरण गरेर लगियो। उनलाई हाल नीलबाराही (बोडे नजिकै) भएको जंगलमा लगेर राखियो। नीलबाराही मन्दिरसँगैको गंख्वचा भन्ने स्थानमा काम गरिरहेका उनलाई अपहरण गर्ने स्वयं नीलबाराही देवता थिए। 

पछि उनलाई जंगलमा नीलबाराहीको मन्दिर बनाउन र विशेष तान्त्रिक विधिं नीलबाराही गण नाच स्थापना गरी गण नाच नाच्ने विधि गोप्य रुपमा सिकाएर पठाए। नीलबाराही देवताको आज्ञा पालना गर्दै उनले नीलबाराही गण नाचको स्थापना गरी हरेक बर्ष नाच नचाउने प्रचलन सुरु गरेका स्थानीय बताउँछन्। 

त्यसकारण आजसम्म पनि देवगण नाचको लागि आवश्यक समान धों थरको घरबाट नै लिन जाने परम्परा चलिरहेको छ। साथै नाच सकिएको भोलिपल्टै पुन धों थर हुनेहरूलाई नै फिर्ता गर्नुपर्ने चलन यद्यापि चलिआएको छ। यसअघि यो नाचको लागि अगाडिदेखि नै प्रशिक्षण सुरु भएको थियो।

बोडेको अखाः द्यो छेँबाट सुरु हुने यो नाच नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः अखाः द्यो छेँमा पुगेर समापन गरिने परम्परा रहेको छ। नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा चलिआएको छ।


Leave a Reply

Your email address will not be published.