मोबाइल होइन, पठन संस्कृति लाग्न मुख्यमन्त्री पोखरेलको जोड 

मोबाइल होइन, पठन संस्कृति लाग्न मुख्यमन्त्री पोखरेलको जोड 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अल्पज्ञानलाई सम्पूर्णता ठान्ने प्रवृत्ति समाजका लागि हानिकारक हुने बताएका छन्।

दाङको घोराहीमा सर्वाेदय पुस्तकालय तथा वाचनालयको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले अल्पज्ञान भएका व्यक्तिले आफूलाई सर्वज्ञाता ठान्दा समाजले बाटो बिराउने गरेको बताएका हुन्।

उनले सामाजिक सञ्जालका कारण पठन संस्कृतिमा ह्रास आएको भन्दै ज्ञान बढाउन अध्ययनमा ध्यान दिनसमेत नयाँ पुस्तालाई आग्रह गरे।

‘मोबाइल संस्कृतिका कारण पठन संस्कृतिमा ह्रास आएको छ, अहिले फेसबुक र ट्विटरमा शीर्षक पढेर आफूलाई सर्वज्ञाता सम्झने प्रवृत्ति बढेको छ,’ मुख्यमन्त्रीले भने, ‘यो प्रवृत्ति समाजका लागि हानिकारण छ, यसले समाजमा असन्तुष्टि र अराजकता बढाउने मात्रै काम गर्छ।’ 

उनले अल्पज्ञानलाई सर्वज्ञान ठान्ने प्रवृत्तिका कारण सामाजिक अराजकता छाएको बताए। यसको अन्त्यका लागि पुस्तकालयले भूमिका खेल्ने विश्वास व्यक्त गरे।  

शीर्षक पढेर धारणा बनाउने नयाँ पुस्ताको प्रवृृत्तिका कारण समाजमा अराजकता ल्याएको भन्दै उनले यसलाई परिवर्तन गर्न हाम्रो अध्ययन शैलीलाई नयाँ शिराबाट बदल्न आवश्यक रहेको औंल्याएका थिए।

‘परम्परागत अध्ययन शैलीको औचित्य सकिएको छैन,’ उनले भने, ‘ज्ञान आर्जनका लागि समग्रतामा अध्ययन गर्न आवश्यक छ, शीर्षक पढेर मात्र हुँदैन।’ 

उनले पुस्तकालयलाई अब पुस्तकालय मात्र नभएर छलफल र विमर्श गर्ने थलोका रूपमा विकास गर्न आवश्यक रहेको बताए।

पुस्तकालय आएर अध्ययन गर्ने मानिसको संख्या न्यून हुने भएकाले पुस्ताकालय र वाचनालयलाई अध्ययनसँगै समसामयिक, सांस्कृतिक, राजनीतिकलगायतका विषयमा छलफल गर्ने थलोमा विकास गर्न आग्रह गरेका थिए।

साथै उनले सर्वाेदय पुस्तकालयको विकास लागि थप सहयोग गर्न समेत तयार रहेको बताएका थिए।


 

८० लाखको लागतमा नयाँ भवन

यसैबीच राप्तीकै सबैभन्दा पुरानो सर्वाेदय पुस्तकालय तथा वाचनालयको नयाँ दुईतले सुविधासम्पन्न भवन निर्माण भएको छ। 
प्रदेश ५ सरकारको करिब ८० लाखको लागतमा घोराही उपमहानगरपालिका–१५ को गौतमनगरमा दुईतले सुविधा सम्पन्न भवन निर्माण भएको हो।

दुईतले भवनको तल्लो तला व्यापारिक प्रयोगमा लगाइने र दोस्रो तलामा लाइबे्ररी सञ्चालन गर्ने सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले जानकारी दिए।

पुस्तकालयमा छुट्टै अनुसन्धान कर्नर, थारु संस्कृति अध्ययन गर्न थारु कर्नर, पठन संस्कृति वृद्धिका लागि अन्तरक्रियात्मक कार्यक्रम गर्न सभाहल सञ्चालन गर्ने लक्ष्य पुस्तकालयले लिएको छ। 

त्यसका लागि थप दुई तला निर्माण आवश्यकता औंल्याउँदै प्रदेश सरकारसमक्ष अनुरोध गरिएको छ।

२०१० सालमा स्थापना भएको सर्वोदय पुस्तकालय तथा वाचनालयलाई स्व. टेकनाथ गौतमको परिवारले जग्गा उपलव्ध गराएका थिए।

२०१६ सालमा निर्माण गरिएको पुस्तकालय भवन पुरानोसँगै जीर्ण बनेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको हो। 

२०१० साल जेठ १२ गते शिक्षा मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै यसको औपचारिक स्थापना मानिएको छ। निरन्तर सञ्चालन भइरहेका देशका पुराना पुस्तकालयमध्ये सर्वाेदय पुस्तकालय पनि एक भएको सचिव सुदीप गौतमले बताए।


Leave a Reply

Your email address will not be published.