कपिलवस्तुमा स्वास्थ्यकर्मी, इन्जिनियर र बैंकका कर्मचारीमा कोरोना संक्रमण
कपिलवस्तुमा स्वास्थ्यकर्मी, इन्जिनियर र बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। यससँगै समुदायमा कोरोना संक्रमण फैलिएको आंशका गरिएको छ ।
कृष्णनगर नगरपालिकाका बुधबार ५ जना कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा संक्रमितको संख्या १० पुगेको छ। त्यसरी थप संक्रमित हुनेमा नगरपालिकामा कार्यरत १ जना सवइन्जिनियर सहित २ कर्मचारी, १ स्वास्थ्यकर्मी र २ जना नेपाल बैंक कृष्णनगरका कर्मचारीमा रहेका छन्।
समुदायमा कोरोना जाँच गर्नका लागि कृष्णनगर नगरपालिकाबाट १ सय ३३ जनाको नमुना संकलन गरिएको थियो। मंगलबार १ बैंकका कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ विद्यार्थीमा कोरोना देखिएको थियो। जिल्लामा कुल ८ सय ११ संक्रमित मध्ये ६३ जना आइसोलेसनमा छन्।
त्यसैगरी शिवराज नगरपालिकाकाको चन्द्रौटालगायत बजार क्षेत्रका ३२ जना व्यापारी र कन्ट्याक्स ट्रेसिङमा परेका ३ सय ६४ जनाको नतिजा बुधबार आएको छ।
नगरपालिकामा समुदाय स्तरका कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरको मुख्य बजार चन्द्रौटाका ३२ जना व्यापारीहरूको स्वाब संकलन गरी परिक्षणका लागि पठाएको थियो। जस मध्ये १ जनाको मात्र पोजेटिभ आएको छ।
त्यस्तै समुदाय स्तरका नागरिकमा गरिएको ३ सय ६४ जना मध्ये ३ जनामा मात्र पोजेटिभ देखिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले जनाए। भट्टराईका अनुसार २ जना शिक्षक र एक वडा सचिवमा पनि कोरोना संक्रमण देखिएको थियो।