तीनमहिने वर्षावासमा लुम्बिनीका भिक्षुहरू

तीनमहिने वर्षावासमा लुम्बिनीका भिक्षुहरू

लुम्बिनीमा भिक्षु तथा भिक्षुणीहरूले तीन महिने वर्षावास सुरु गरेका छन्। असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमासम्म बौद्ध भिक्षुहरू वर्षावास बस्ने परम्परा रहेको छ। यो वर्ष भने मलमासका कारण एक महिनापछि वर्षावास सुरु भएको हो।

अखिल नेपाल भिक्षु महासंघ तथा अन्तर्राष्ट्यि बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले लुम्बिनीस्थित नवमैत्री महाबिहारमा उनले वर्षावासको शुभारम्भ गरेका हुन्।

उनका अनुसार लुम्बिनीका थाई बिहार, बर्मा, महावोधी सोसाईटी, श्रीलंका बिहार, थेरवाद बिहार, पण्डितराम विपश्यना केन्द्र र धर्मोदय बिहारमा भिक्षुहरू वर्षावासमा बसेका छन्। भिक्षु मैत्रीले पनि आफू वर्षावासमा बसेको जानकारी गराए।

वर्षावासको समयमा बिहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमितरुपमा बिहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान  प्रदान गर्ने कार्यक्रम हुने भिक्षु महास्थवीरले जानकारी दिए।

वर्षावासका बेला साँझ बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने प्रचलन छ। त्यसबेला बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ। 

वर्षावासका बेला बिहान एक छाक खाना खाने गर्छन्। सबैसम्म स्थानीयसँग भिक्षा मागेर खाने गर्छन्। तीन महिनापछि फेरि वर्षावासका लागि निम्तो दिने उपासक/उपासिका आएर भिक्षुलाई पहेंलो वस्त्र दान गर्छन्। त्यसपछि वर्षावास पूरा हुन्छ।

वर्षायाममा वर्षाबास बस्नाले आफूले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु भिक्षुणी वर्षावास बस्ने परम्परा रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए। 

वर्षावास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेको छ। वर्षावास भनेको भिक्षुहरू तीन महिना एकै बिहारमा बसेर अध्ययन एवं चिन्तन मनन् गर्नु हो। 

वर्षाको समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरू यताउता आवतजावत गर्न गाह्रो हुने भएकाले भगवान बुद्धले वर्षावासको व्यवस्था गरेको भिक्षुहरूको भनाइ छ।


Leave a Reply

Your email address will not be published.