दाङमा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

दाङमा समुदाय स्तरमा कोरोना परीक्षण सुरु

दाङमा समुदाय स्तरमा कोरोना परीक्षण सुरु गरिएको छ। समुदाय स्तरमा गरिएको परीक्षणका क्रममा गढवा गाउँपालिका–८ कोइलावास निवासी दुई जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोना समुदायस्तरमा भए नभएको अवस्था बुझ्नका लागि कोइलावास क्षेत्रबाट  ४० जनाको साउन १६ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो। 

रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोइलावासका २१ र ४५ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

कोरोना संक्रमण देखिएका दुवै जना भारतबाट आएर समुदायस्तरमा बस्दै आएका व्यक्तिहरू रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले जानकारी दिएका छन्। समुदायमा कोरोना भए नभएको परीक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो।  

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ४० जना मध्ये दुईजना भारतबाट आएर घरमा बस्दै आएका व्यक्तिहरू रहेको गढवा गाउँपालिका-८ का अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिएका छन्। संक्रमित मध्ये एक जना करिव १२/१३ दिन पहिले र एक जना यहि हप्तामात्र स्वदेश आएका उनले बताए। 

छिमेकी जिल्ला बाँकेको समुदायस्तरमा कोरोना संक्रमण बढेपछि दाङमा पनि समुदायस्तरमा कोरोना जाँच गरिएको थियो। घोराहीका समुदायस्तरका ५१ जनामा गरिएको परीक्षणका क्रममा सबैको परीक्षण नतिजा नेगेटिभ रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

घोराही उपमहानगरपालिकाका सुरक्षाकर्मी, मेडिकल सञ्चालक र बैकका कर्मचारीहरू गरि ५१ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसैगरि राप्ती गाउँपालिकाका स्वास्थ्य प्रदायक निकायका २२, लमही नगरपालिकामा ३० जनाको परिक्षण गरिएपछि उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ। 

तुलसीपुर उपमहानगरपालिकाले भने वडा नम्बर १३ का प्रत्येक घरका एकजनामा कोरोना परीक्षण सुरु गरेको छ। उपमहनगरले वडाका प्रत्यक घरघरमा पुगेर स्वाब संकलन गर्ने काम बुधबारबाट सुरु गरेको छ। 

दाङमा अहिले बाहिरबाट आएका १ सय ५०  नागरिकहरू क्वारेन्टाइनमा बसिरहेका छन् भने २४ जना आइसोलेसनमा रहेका छन्। उनीहरूको कोरोना विशेष अस्पताल बेलझुण्डी र देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर लालमटियामा उपचार भैरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अहिलेसम्म ६ सय ६९ जना संक्रमण देखिएको छ। 


Leave a Reply

Your email address will not be published.