प्रादेशिक अस्पतालको बेथिति सहन नसकेर आइसियू इन्चार्जले दिए राजीनामा

प्रादेशिक अस्पतालको बेथिति सहन नसकेर आइसियू इन्चार्जले दिए राजीनामा

प्रदेशमा कोरोना महामारीको फैलिइरहेको बेला जनकपुरस्थित प्रादेशिक अस्पतालका आइसियू प्रमुख संजय यादवले पदबाट राजीनामा दिएका छन्।
 
यादवले अस्पतालको गैरजिम्मेवार क्रियाकलाप र लापरबाहीका कारण आइसियू प्रमुख पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

कोरोना महामारीको चार महिना बितिसक्दासमेत अस्पतालले कोभिड अस्पताल व्यवस्थित गर्न नसकेको भन्दै पदबाट राजीनामा दिएको आइसियू प्रमुख यादवले बताएका छन्।

‘पछिल्लो ४ महिनाको अन्तरालमा कोभिड आइसीयू नखोलेर पटक-पटकको आग्रहका बाबजुद अस्पतालको जेनेरल आइसीयूमा कोरोनाका शंकास्पद बिरामीलाई राख्ने र दबाब दिएर बिनासुरक्षा स्वास्थ्यकर्मीलाई ड्युटी गर्न लगाएपछि उनीहरू संक्रमित भएका छन्। 'अस्पतालले देखाएको लापारबाहीका कारण भयावह अवस्था उत्पन्न भएको छ,’ आइसीयू प्रमुख यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

अस्पताल प्रशासनकै कारण आइसीयूमा उपचार गराइरहेका दुई बिरामी, दुई चिकित्सक, ८ जना नर्स र एक सफाइ कर्मचारी कोरोना संक्रमित हुन पुगेको यादवले बताएका छन्।

‘कोरोनाका शंकास्पद बिरामीलाई जेनेरल आइसीयुमा भर्ना नगर्न हामीले पटकपटक आग्रह ग-यौं। तर, उहाँहरूले मान्नु भएन्,’ यादव भन्छन्,‘आइसीयुमै भर्ना गरिएका सहिदनगर नगरपालिकाका एक पुरुषको मृत्युपछि संक्रमण पुष्टि भयो।’

आइसीयूमा भर्ना भएका बिरामीको कोरोनका कारण मृत्यु भएको थाहा हुँदाहुँदै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई बिदा नदिएर ड्युटी गर्न लगाइएको उनको भनाइ छ। 

आइसीयूमा भर्ना भएका बिरामीमा संक्रमण पुष्टि भइसकेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूलाई होटलको क्वारेन्टाइनबाट काम गर्न बोलाइएको संजयले बताए। अहिले आइसीयूमा काम गर्ने ८ जना स्वास्थ्यकर्मीहरू संक्रमित भइसकेको उनको भनाइ छ।

संक्रमित भएका स्वास्थ्यकर्मीहरूलाई होटलभित्रै आइसोलेसनको व्यवस्था मिलाइदिन आग्रह गरेपछि उनीहरूलाई डरत्रास देखाइ जबरजस्ती अस्पतालको अव्यवस्थित आइसोलेसनमा सारिएको संजयले बताए।

‘होटलबाट अस्पतालको अव्यवस्थित आइसोलेसनमा सार्दा थप जोखिम बढेको छ, स्वास्थ्यकर्मीहरूले जोखिमबाट बचाउन गुहार गरेपनि आफू विवश भएर सान्त्वना दिनुबाहेक अरु केही गर्न सकेको छुइन्,’ संजयले लेखेका छन्।

होटलको क्वारेन्टाइनबाट हटाइएको ती स्वास्थ्यकर्मीहरू रातभर अस्पतालको प्राङ्गणमा वर्षातमा रुझ्न बाध्य भएपनि अस्पताल प्रशासनले कुनै व्यवस्था नगरेको उनले बताए।


Leave a Reply

Your email address will not be published.