स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघद्वारा विरोध

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघद्वारा विरोध

प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै नेपाल चिकित्सक संघ जनकपुरले आपत्ति जनाएको छ। 

कोरोना महामारीको बेला बिरामीको उपचार गर्ने क्रममा संक्रमित हुन पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमनावीय तरिकाले होटलबाट निकालिएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको हो।

‘आफ्नो ज्यान र परिवारको परवाह नगरी अहोरात्र बिरामीको सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारले हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल घटेको महसुस गरेका छौं,’ संघका अध्यक्ष डा. रामनरेश पण्डित र सचिव डा. रामजी यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महामारीको बेला उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको कामको उच्च मूल्यांकन गर्न चिकित्सक संघले माग गरेको छ। चिकित्सक संघले काममा खटिने स्वास्थ्यकर्मीहरूलाई पिपिईको उचित व्यवस्था गर्न, कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई उचित वासस्थान तथा खानपानको व्यवस्था गर्न माग गरेको छ।

यसैगरी उपचारको क्रममा पिसिआर पोजिटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न आइसोलेसनको व्यवस्थाका साथै परिवारका सदस्यलाई तत्काल पीसीआर जाँचको व्यवस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कोरोनाको जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराउन चिकित्सक संघले माग गरेको छ।


Leave a Reply

Your email address will not be published.