राम मन्दिर शिलान्यास भएको खुसीयालीमा जनकपुरमा दीपोत्सव

राम मन्दिर शिलान्यास भएको खुसीयालीमा जनकपुरमा दीपोत्सव

भारतको अयोध्यामा राम मन्दिर शिलान्यास भएको खुशियालीमा जनकपुरमा दीपोत्वस कार्यक्रम गरिएको छ। वर्षौको प्रतीक्षापछि सीताको ससुराली अयोध्यामा राम मन्दिर निर्माण गर्न शिलान्यास भएको खुशियालीमा जानकी मन्दिरसहित यहाँका युवा तथा स्थानीयहरुले दीपोत्सव गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा एक समारोहका बीच राम मन्दिरको शिलान्यास गरेका हुन्। प्रधानमन्त्री मोदीले चाँदीको इँटा राखेर राम मन्दिर शिलान्यास गरेका छन्। 

शिलान्यास कार्यक्रममा सहभागी हुन जानकी मन्दिरका महन्त रामतपेश्वर दास पाँचवटा चाँदीका इँटा र जनकपुरको माटो लिएर त्यहाँ पुगेका छन्।

राम मन्दिर शिलान्यास भएको खुशियालीमा जानकी मन्दिरका पुजारीहरुले साँझ मन्दिर परिसरभित्र दीप प्रज्वलन गरेका छन्। यसअघि उनीहरुले बिहान भजन किर्तनसमेत गरेका थिए।

यसैगरी जनकपुरका युवाहरुले विभिन्न चोकहरुमा दीप प्रज्वलन गरेका छन्। जानकी चोकका युवाहरुले श्री सियाराम उल्लेखित रंगोली बनाएर दीप प्रज्वलन गरेका छन्। युवाहरुले रंगोली बनाउनुका साथै सडकको पेटीमा समेत दीप प्रज्वलन गरेका थिए।

माता सीताको ससुराली अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुनु मिथिलावासीका लागि खुशीको अवसर रहेकोले आफूहरुले दीपोत्सव कार्यक्रम गरेको सुशील कर्णल बताए।

यस अवसरमा जनकपुरका स्थानीयहरुले समेत आ–आफ्नो घरमा समेत दीप प्रज्वलन गरेका छन्।


Leave a Reply

Your email address will not be published.