वर्षेनि ‘डुबिरहने’ भजनीवासी भन्छन्- राहतको चामल होइन, नडुब्ने ठाउँमा घर देऊ

वर्षेनि ‘डुबिरहने’ भजनीवासी भन्छन्- राहतको चामल होइन, नडुब्ने ठाउँमा घर देऊ

साउन १४ गते आएको बाढीका कारण घरवारविहीन बनेका कैलालीका भजनीवासी हालसम्म पनि सडकमै बास बस्दै आएका छन्। 

समस्यामा परेका नागरिकलाई जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री उपलब्ध गराउनेको संख्या पनि बढ्दो छ। तर डुबानमा परेका नागरिकलाई भने राहतभन्दा पनि सुरक्षित बसोबासको चिन्ताले पिरोलेको छ।

हरेक वर्ष बाढी आएपछि कि त जंगलको उँचो स्थान, नभए सडकमा हप्तौं बस्नुपर्ने बाध्यतालाई दिगो रूपमा समाधान होस् भन्ने भजनीवासीको छ।

‘हरेक वर्ष डुबानमा परेपछि राहत सामग्री ल्याएर सरकारी तथा गैरसरकारी संस्था भजनी पुग्छन्,’ स्थानीय देवेश चौधरीले भने, ‘योभन्दा हामी डुबान क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा घर बनाउन दिएको भए यो समस्या सदाका लागि समाधान हुन्थ्यो।’ 

बर्सेनि डुबानमा पर्दै आएका कैलालीको भजनीका नागरिकले समस्याको स्थायी समाधानतर्फ सरकारको ध्यान जान नसक्दा डुबानको समस्या खेप्नुपरेको गुनासो गरेका छन्। 

दक्षिणमा मोहना, उत्तरबाट बग्ने कान्द्रा, काँडा र पथरैया तथा पूर्वमा कर्णाली नदीको बीचमा बस्दै आएका भजनीका करिब २ हजार २ सय बढी परिवारले हरेक वर्ष डुबानपछि राहतको पोका बाँड्ने सरकारी र गैरसरकारी पक्षलाई सुरक्षित स्थानमा बसोबासका लागि पहल गर्न आग्रह गरेका छन्। 

‘बर्सेनि डुबानपछि चिउरा र चाउचाउ बाँड्न सरकारी तथा गैरसरकारी निकाय यहाँ पुग्ने गरेका छन्,’ भजनी–८ लालबोझीका बसन्त डगौराले भने, ‘तर हाम्रो समस्या समाधानका लागि कुनै पनि निकायले पहल गर्दैनन्, हामीलाई राहतभन्दा डुबान नहुने स्थान आवश्यक छ।’ 

हरेकपल्ट डुबानपछि राहत तथा क्षतिपूर्तिमै सरकारको करोडौं खर्च हुने गरेको बताउँदै भजनीका शिक्षक रमेश बोहराले भने, ‘एक पटक डुबान हुने स्थानमा बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके दिगो रूपमा समस्या समाधान हुने थियो यतातर्फ सोच्नु आवश्यक छ।’ 

‘हामीले हरेक वर्ष सरकारलाई सुरक्षित स्थानको माग गर्दै आएका छौं,’ उनले भने, ‘तर सरकार डुबानपछि चाउचाउ र चिउरा लिएर आउँछ, हामीले यसरी कहिलेसम्म बाँच्ने?’ 

उनले सुरक्षित स्थानमा एकीकृत घर निर्माण गर्न दिएर खेतीका लागि स्थानीयले हाल प्रयोग गर्दै आएको जमिन उपलब्ध गराए सरकारले आगामी वर्षदेखि भजनी डुवान समस्या सुन्नु नपर्ने र चाउचाउ तथा चिउराको जोहो नै गर्नु नपर्ने बताए। 

‘डुबानपछि सस्तो लोकप्रियता कमाउन धेरैले दुई चार पाकेट चिउरा र चाउचाउ लिएर आउने गरेका छन्,’ उनले भने, ‘त्यसले हाम्रो एक छाक टर्ला तर मनको त्रास र बाढीको चिन्ता हट्दैन, हामीलाई भोकभन्दा वर्सेनिको त्रास हटाउने ‘राहत’ चाहिएको छ।’

‘उसो त चुनावताका उम्मेदवार बनेका मेयर, वडाध्यक्ष, प्रदेश सभा सदस्य तथा संघीय सांसदको एउटै एजेन्डा डुबान समस्या समाधान नै हो। तर चुनाव जितेपछि भने जनप्रतिनिधिले चुनावी एजेन्डा बिसर्ने गरेको स्थानीयको आरोप छ। ‘चुनावताका भोट माग्ने सबैले डुबान समस्या समाधान गर्ने नारा घन्काए,’ स्थानीय देवीलाल डगौराले भने, ‘अहिले कोही फर्केर आउँदैनन्, बाढीले डुबानमा पर्दा चाउचाउ बाँडेर फर्किए।’ 

‘आकासमा कालो बादल देखिए भजनीवासीको मनमा बाढी आउने त्रास सुरु हन्छ,’ भजनी–७ लालबोझीका दुखीराम चौधरीले भने, ‘वर्षा सुरु भएपछि पशु चौपायकोे व्यवस्थापन, घरको अन्नबाली कसरी जोगाउने अनि बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने पिरलो पर्छ।’ 

वडा नम्बर ७ कै रामप्रसाद डगौराले भने, ‘हरेक वर्ष वर्षायाम सुरु भएपछि बाढी नलाग्ने स्थान (ज्ांगलको उँचो स्थान) रोज्न हतारिनुपर्दछ, नदीमा पानीको सतह बढेसँगै गाउँमा ५–६ फिट पानी जम्छ अनि एक सातासम्म जंगलमै बास हुन्छ।’ 

गाउँको बीचमा बाँधजस्तै उँचो हुलाकी सडक निर्माण गरेपछि लालबोझीमा झनै डुबान हुने गरेको उनले बताए।

गाउँका चौकीदारसमेत रहेका उनले भने, ‘पहिला मोहना र कान्द्रामा एकैपटक बाढी आए मात्रै डुबान हुने गर्दथ्यो तर अहिले दुवै नदीको बीचमा ७ फिटसम्म उँचो बनाएर हुलाकी सडक निर्माण गरिएको छ, जसले गर्दा एउटा नदीमा बाढी आउँदा पनि सडकका कारण पानी थुनिएर गाउँ डुबानको चपेटामा पर्न थालेको छ।’ 

भारतले आफ्नो क्षेत्रमा धेरै बाढी आए कैलाशपुरी ड्याममा ढोका बन्द गर्ने गरेका कारण लालबोझीमा झनै डुबान हुने गरेको उनले

बताए। लालबोझी सँगै चर्रा, लवास्टपुर र दक्षिणपुर गाउँसमेत मोहना र कान्द्रा नदीमा आएको बाढीका कारण डुबानमा पर्ने गरेको उनले बताए। 

‘गाउँमा डुंगा ल्याएर राहत बाँड्न आउने सरकारले एक पटक सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था गरिदिए अर्को पटक डुंगामा आउनै पर्दैनथ्यो,’ उनले भने, ‘चुनावमा मात्रै आश्वासन बाँडेर हामीलाई झुक्याउने नेतालाई चिनिसक्यौं।’ 

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नदीमा ड्याम बनाएर डुबान समस्या समाधान गर्ने बारेमा छलफल भइरहेको बताए। भजनीका करिब दुई हजारदेखि दुई हजार पाँच सयसम्म परिवार डुबानमा पर्दै आएका छन्,’ उनले भने, ‘त्यत्रो बस्तीलाई स्थानान्तरण गर्न असम्भव देखिन्छ, बरु नदीमा उँचो ड्याम बनाएर डुबान समस्या समाधान गर्न सकिन्छ।’ 

वर्सेनि सबैभन्दा बढी क्षति कान्द्रा नदीले पु¥याउँदै आएको छ,’ उनले भने, ‘उक्त नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्दै ड्याम निर्माण गर्नसके समस्या केही समाधान हुने देखिन्छ, यस विषयमा हामीले छलफल चलाएका छौं।’ 

कान्द्रा नदी तथा आसपासको क्षेत्र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको क्षेत्राधिकारभित्र पर्ने बताउँदै मेयर चौधरीले नदीमा तटबन्धसहितको ड्याम निर्माणका लागि सोही परियोजनासँग समन्वय भइरहेको बताए। 


Leave a Reply

Your email address will not be published.