सुदूरपश्चिममा थप तीन पिसिआर मेसिन चलाउने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका थप तीन वटा पिसिआर मेसिन सञ्चालनका लागि ल्याव निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
तीन वटामध्य सेती प्रादेशिक अस्पतालले सन्चालन गर्ने गरी धनगढीमा जडान हुने मेसिन आजदेखि सञ्चालनमा आउने छ।
मेसिन सञ्चालनका लागि एसीको तापक्रम र पानीको व्यवस्थापन सकिएकाले आजैदेखि पिसिआर परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यसैगरी डोटी जिल्ला अस्पतालले सञ्चालन गर्नेगरी जडान भइरहेको पिसिआर मेसिन साउन अन्तिम सातातिर सञ्चालन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार पिसिआर मेसिन जडानका लागि ल्याव निर्माण भइरहेकाले साउन अन्तिम साता सम्म डोटीमा परीक्षण थालिने छ।
यस्तै बैतडीमा जडान गरिने पिसिआर मेसिन भने भदौ पहिलो साता मात्रै सञ्चालनमा आउने कार्कीले बताए।
प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पिसिआर मेसिन पुगाइएको छ।
पिसिआर मेसिन जिल्ला पुगे पनि जडान हुन भने केही समय लाग्ने उनले बताए।
जिल्ला अस्पताल बैतडीले सञ्चालन गर्नेगरी जडान हुने मेसिनका लागि ल्याब निर्माण नभउका कारण मेसिन जडान गर्न केही समय लाग्ने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको बताए। भदौ पहिलो सातासम्म मेसिन जडान सकेर दोस्रो सातादेखि प्रयोगशालाबाट कोरोना परीक्षण सुरू गर्ने लक्ष्य रहेको उनले सुनाए।
चैत १५ गते बसेको प्रदेश मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले प्रदेशका तीन वटा मेसिन खरिद गरी कैलाली, डोटी र बैतडीमा मेसिन जडान गर्ने निर्णय गरेको थियो।