सीमा नाकाहरू ‘असुरक्षित’, भारतबाट छिर्नेहरूले त्रास बढाए

सीमा नाकाहरू ‘असुरक्षित’, भारतबाट छिर्नेहरूले त्रास बढाए

सशस्त्र प्रहरीको ‘भूमिका’का कारण भारतसँग जोडिएका सीमा क्षेत्रमा मानिसहरूको आवागमनले चुनौती थपिने विश्लेषण गरिएको छ। 

सशस्त्र प्रहरी सीमा सुरक्षा भन्दै एकैठाउँमा केन्द्रित हुँदा अहिले भारतबाट मानिसहरूलाई नेपाल छिर्न सजिलो हुँदै गएको छ। 

स्रोतहरूका अनुसार सशस्त्र प्रहरी पहिले सीमामा हरेक दुई सय मिटरमा बस्थ्यो, अहिले एकै ठाउँमा बस्न थालेको छ। उसले सुरक्षा चुनौती रहेको भन्दै एकैठाउँ बसेर गस्ती गरिरहेको छ। 

सशस्त्र प्रहरी एकैठाउँ बस्दा सीमाबाट मानिसहरूले नेपाल छिर्ने अवसर पाउन थालेका छन्। 

‘सशस्त्र प्रहरीले आफ्नो रणनीति परिवर्तन गरेको छ, सुरक्षा चुनौती छ भन्दै एकैठाउँमा बस्ने गरेको छ,’ मोरङका एक सुरक्षा अधिकारीले भने, ‘उहाँहरू त्यसरी बस्दा हामी एक्लैलाई थेग्न गाह्रो भइरहेको छ।’ 

सशस्त्र प्रहरी मुख्यालयले रणनीतिक रूपमै सशस्त्र प्रहरीलाई अन्य कामभन्दा सीमा सुरक्षामा बस्न बढी सक्रियता देखाउन सर्कुलर नै गरेको बुझिएको छ। केही ठाउँमा सशस्त्र प्रहरीमाथि भारतीय पक्षबाट आक्रमण गर्न थालिएकाले सशस्त्र प्रहरी एकैठाउँ भेला भएर बस्न थालेको छ। 

‘समग्रमा उहाँहरूले सानो-सानो युनिटमा बस्ने काम छोडिदिनुभएको छ, हरेक दुई सय मिटरमा बस्ने पहिलेको ट्रेन्डमा फरकपन आएको छ,’ झापाका अर्का सुरक्षा अधिकारीले भने, ‘यसले गर्दा त्यो दुई सय मिटरको ग्याप खाली भयो, चुनौती बढ्यो।’ 

सशस्त्र प्रहरीले आफ्नो टोलीलाई एकतृत गर्न थालेपछि नेपाल प्रहरीलाई भने सीमा रुँघ्नुपर्ने बाध्यता थपिएको छ।

‘हामीले सीमा सुरक्षा कार्यालय, नजिकका ठानाहरूबाट एकदेखि डेढ दर्जन प्रहरी खटाइरहेका छौं, यसले हाइवे पनि हेर्ने, सीमामा पनि हेर्ने गरेको छ,’ ती अधिकारीले भने, ‘खासै समन्वय हुन छोडेकाले कोरोनाको महामारीका बेला जोखिम बढ्ला भन्ने हो।’ 

अहिले सीमामा सशस्त्र प्रहरीले भन्सार राजश्व गस्ती हटाइसकेको छ। 

कारागार सुरक्षा हेरिरहेको सशस्त्र प्रहरी बल सीमामा केन्द्रित गरिएको छ। यसबाहेक औद्योगिक सुरक्षा, विकास निर्माणलगायत ठाउँका सशस्त्रका युनिटहरू उठेका छन्। १३ वटा भन्सार राजश्व गुल्म र ५ वटा राजश्व चुहावट नियन्त्रण गुल्म हटेका छन्। 

यसको अर्थ सशस्त्रले गैरकानुनी रूपमा भित्रिने सामग्रीहरूको नियन्त्रणमा देखाइरहेको भूमिका खुम्चिएको छ। ‘अहिलेसम्म हामीले राजश्व चुहावट नियन्त्रणमा भूमिका खेलिरहेकै छौं, भविष्यमा सरकारले के गर्ला त्यो अलग्गै विषय हो,’ सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भने।  

मोरङमा सशस्त्रले एउटा कम्पनी १२५ जनाको फौज सीमामा खटाएको छ। विराटनगर, रंगेली, सिजुवालगायत क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक दर्जनबढी एउटा टोलीमा बस्छन्। 

यसको सबै ‘मनिटरिङ’ सीमा सुरक्षा कार्यालयले गर्छ। ‘सशस्त्र प्रहरी हिजो जुन कार्यादेश दिएर खटाइएको थियो। अहिले त्यो लेभलको काम भएको छैन,  फितलोपन छ,’ एक सुरक्षा अधिकारीले भने। 

यसरी सीमाको जनशक्ति एकीकृत हुँदा जोखिम बढेको कुराकानीहरू हुने गरेका छन् दुवै संगठनमा। तर, सशस्त्रले कहिले जनशक्ति अभाव त कहिले भौतिक पूर्वाधारको अभाव देखाउने गरेको छ। 

पर्साका एक सुरक्षा अधिकारीका अनुसार बोर्डरमा चोरी तस्करीको मुख्य चुनौती हो। यो वर्षौंदेखि चलिआएको छ। सुरक्षाकर्मीले रोक्ने प्रयास गरिरहेको छ। 

अहिले कोभिडकै बेला पनि जबरजस्ती छिर्न खोज्ने समूह सक्रिय छ। 

‘प्रहरीले छोड्दैन भन्ने मनौवैज्ञानिक बनाउन जरुरी छ, हामीले त्यो गरिआएका छौं,’ ती अधिकारीले भने, ‘तर, सबै प्रहरीले कडाइ गर्दैनन्, करप्सनमा लागेका मान्छेहरू पनि आएका हुन्छन्, पारिबाट समूह नछिरी नहुने समूह छ। छल्ने उद्देश्य छ, जति चाहे पनि बाँध बाँधे जस्तो चाहिँ हुँदो रहेनछ,’ ती अधिकारीले भने। 

सशस्त्र र नेपाल प्रहरीले जति नै प्रयास गरे पनि वर्षमा भन्सार लक्ष्यको एक प्रतिशत राजश्व पनि उठाउन सकेको अवस्था भने छैन। त्यसकारण राजश्व चुहावट रोक्ने ‘सिस्टमेटिक’ संयन्त्र बनाउने काम राज्य र भन्सारले नै गर्नुपर्ने उनले बताइन्। 

यी सबै कार्यहरूमा सशस्त्र प्रहरी कुनै न कुनै रूपमा झोडिएको छ। ‘हामी कसैलाई दोष लगाउँदैनौं तर चोरी तस्करी नियन्त्रण गर्ने जिम्मा नेपाल प्रहरीको मात्र हैन भन्ने चाहिँ सबैले बुझ्नुपर्छ,’ ती अधिकारीले भने। 

कतिपय ठाउँमा भने वर्षाले पानी जमेका कारण पक्की संरचनामै राख्नुपर्दा समस्या भएको हुनसक्ने सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले बताए। ‘हरेक दुई सय मिटरमै हुनुपर्छ भन्ने छैन, यो टोलीले आवश्यकताअनुसार जता पनि डिउटी गरिरहेको हुन्छ,’ उनले भने। 

कतिपय सन्दर्भमा चाहिँ दुई प्रहरी संगठनका अधिकारीहरूबीच समन्वयको समेत अभाव रहँदा यो समस्या निम्तिने गरेको भन्ने गरिन्छ। प्रदेश २ मा अहिले यस्तो समस्या छैन।


Leave a Reply

Your email address will not be published.