सेना, डाक्टर, बै‌ंकरसहित पर्सामा थप ४३ जनामा काेराेना संक्रमण पुष्टि 

सेना, डाक्टर, बै‌ंकरसहित पर्सामा थप ४३ जनामा काेराेना संक्रमण पुष्टि 

पर्सामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पिसिआर परीक्षणमा ११ जना नेपाली सेनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। 

बुधबार राति ६ महिला र ३७ जना पुरुषमा कोरोना संक्रमण भएकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।  

संक्रमण पुष्टि हुने ४३ जनामध्ये वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ११ जना छन्। 

उनका अनुसार संक्रमित हुनेमा ७ वर्षदेखि ७३ वर्ष उमेरका छन्। संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण पनि देखिएकाे छ।

नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित उनकाे परिवारका दुईजनामा पनि संक्रमण पुष्टि भएको हाे। 

संक्रमण पुष्टि हुनेमा वीरगञ्ज निवासी नारायणी अस्पतालमा डायलासिस गराउँदै आएका ३५ वर्षीया महिला पनि छन् भने नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ। 

रौतहट मौलापुरका एकजना र बाराको देवताल, प्रसैनीमा एक-एकजना संक्रमित रहेका छन् भने महाेत्तरी जिल्ला घर भई हाल वीरगञ्जमा कार्यरत ३७ वर्षीय डाक्टरमा पनि संक्रमण देखिएको छ। 

पोखरिया नगरपालिका १ जना, पकाहामैनपुर गाउँपालिका एकजनामा कोरोना देखिएको हो बाँकी वीरगञ्जकै रहेका छन्। 


Leave a Reply

Your email address will not be published.