काेराेना संक्रमणकाे सूचना लुकाउँदा बिर्तामोडमा अन्योल 

काेराेना संक्रमणकाे सूचना लुकाउँदा बिर्तामोडमा अन्योल 

थाहा पाएर पनि बिर्तामोड नगरपालिकाले दुईजना कोरोना संक्रमितका बारेमा सूचना गोप्य राखेको छ।

एनएमबी बैकका दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले मंगलबार बेलुका थाहा पाए पनि बिहीबारसम्म सूचना गोप्य राखेको हो। 

अहिलेसम्म पनि नगरपालिकाले कुन बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको त्यो खुलाउन चाहेको छैन। एनएमबी बैक बिर्तामोड शाखाबाट सरुवा भएर काठमाडौं गएका दुई जना वरिष्ठ अधिकृत स्तरका कर्मचारीलाई मंगलबार कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएका दुई वरिष्ट अधिकृत  र अर्का एक अधिकृत  अघिल्लो बिहीबारसम्म बिर्तामोड शाखाको अफिस आएका थिए। उनीहरू शुक्रबार भाडाको स्कर्पियो चढेर काठमाडौँ गएका थिए। 

आइतबार काठमाडौंमा नै उनीहरूको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

तीनमध्ये  दुईजना वरिष्ट अधिकृतमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकले तत्कालै त्यो जानकारी नगरपालिकालाई गराएको थियो । यद्यपि, बिहीबारसम्म पनि बिर्तामोड नगरपालिकाले त्यो सूचना कसैलाई चुहाएको थिएन। 

बिर्तामोडबाट काठमाडौँ गएका एक जनामा कोरोना संक्रमण देखिएको भनेर बिर्तामोड नगरपालिकाका जिम्मेवार व्यक्ति पन्छन चाहेका थिए। 

झापा बाह्रदशीका दुई, इलामका एक, बिर्ताबजार प्रहरी चौकीमा कार्यरत प्रहरी एक र अर्का एक व्यक्तिसँगको सम्पर्कमा आएकाको कन्ट्र्याक ट्रेसिङ सुरु गरिएको सार्वजनिक भएपछि जनस्तरमा त्यसको खोजी भएको थियो ।

पछि एनएमबी बैंक बिर्तामोड शाखाबाट काठमाडौँ सरुवा भएर गएका तीनमध्ये दुईजनामा कोरोना संक्रमण भएको खुलेको छ ।
काठमाडौँमा संक्रमण पुष्टि भएका एकजना झापाको सुरुङ्गा र अर्का व्यक्ति सुनसरीको धरानका भएको खुलेको हो। 

उनीहरु कपन र पुतलीसडक शाखामा सरुवा भएका वरिष्ट अधिकृत हुन्। धरान घर भएका अधिकृतको भने रिपोर्ट नेगेटिभ आएको छ।
बिर्तामोड नगरपालिकाका फोकल पर्सन याम खड्का काठमाडौँमा पुष्टि भएकाले आफूहरूले जानकारी दिन नमिल्ने बताउँछन्।

'यहाँ पुष्टि भएको भए हामी बुधबार नै जानकारी दिन्थ्यौं' खड्काले भने,'हामीले जानकारी दिन नमिल्ने भएकाले कन्ट्रयाक ट्रेसिङमा लाग्यौँ, बैंकको नाम हामीले भन्न मिल्दैन।'

एनएमबी बैंक बिर्तामोड शाखाका प्रमुख मेघराज तिम्सिनाले संक्रमण पुष्टि भएकोबारे मंगलबार बेलुका नै नगरपालिकालाई जानकारी गराइएको बताए।

अहिले आफूहरू कार्यालयमा नै रहेको र काम  भने रोकिएको उनले जानकारी दिए। आफूहरू कसैको सम्पर्कमा नगएको उनले बताए। उनले बुधबार बैंकका १२ जनाको स्वाब संकलन गरिएको र शुक्रबार ६ जनाको गरिने जानकारी दिए।

बैंककै सूचनाका आधारमा कन्ट्रयाक ट्रेसिङ सुरु गरिएको भए पनि स्पष्ट सूचना नदिँदा बिर्तामोडमा अन्याेल भएको छ।  बुधबार ३ सय ५२ जनाको कन्ट्रयाक ट्रेसिङ गरेको खड्काले बताए। कसको ट्रेसिङ गरिएको हो त्यो पनि खुलाइएको छैन।

अहिले पनि नगरपालिकाले स्पष्ट सूचना दिन चाहिरहेको छैन। आइतबार मध्यरातदेखि लकडाउन गरिएको बिर्तामोड नगरपालिकामा निषेधाज्ञा जारी हुने हल्लाले नगरवासीमा अर्को संशय  छाएको छ।

बिर्तामोडको वास्तविकताबारेमा जानकारी लिन नगर प्रमुख ध्रुवकुमार सिवाकोटीसँग सम्पर्क गर्दा व्यस्त भएको जानकारी फर्काए। उनले भने, 'म कोटिहोमको पिसिआर ल्याब निरीक्षण गर्दै छु, अहिले व्यस्त छु तपाईंलाई पछि फोन गर्छु।' 

उपप्रमुख पवित्रा प्रसाईंको फोन लागे पनि उठेन।  बिर्तामोडमा एक हजार जनाको  कन्ट्रयाक ट्रेसिङ नसकी लकडाउन नखुल्ने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णराज कोइरालाले निषेधाज्ञाको हल्ला निराधार भएको बताए।


Leave a Reply

Your email address will not be published.