संक्रमित मन्त्रीकाे सम्पर्कमा रहेका गण्डकीका कानुनमन्त्रीले परीक्षण गराएनन्

संक्रमित मन्त्रीकाे सम्पर्कमा रहेका गण्डकीका कानुनमन्त्रीले परीक्षण गराएनन्

कोरोना संक्रमितको सम्पर्कमा रहेका गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमानले कोरोना परीक्षणका लागि स्वाब दिएका छैनन्। 
कोरोना पुष्टि भएका प्रदेश २ कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र मन्त्री चुमान काठमाडौंमा भएको एउटै बैठकमा सहभागी थिए। 

संक्रमितसँग एउटै बैठकमा रहेकाले गण्डकीका कानुनमन्त्री चुमान स्वतः कन्ट्रयाक ट्रेसिङमा पर्छन्। तर, आफूमा लक्षण नदेखिएको भन्दै मन्त्री चुमानले परीक्षण गराएका छैनन्। 

‘लक्षण देखिएको छैन। त्यसमाथि हामी सँगै फर्किनुभएका कसैमा पनि पोजेटिभ नदेखिएको हुनाले स्वाब दिएनौं,’ कानुनमन्त्री चुमानका स्वकीय सचिव राजु बिकले भने, ‘स्वाब दिँदा राम्रो हुन्थ्यो। बिरामीकै चेक होस् भन्ने उद्देश्यले दिएनौं।’

कानुनमन्त्री चुमान साउन ११ मा काठमाडौं गएका थिए। ‘प्रहरी समायोजनसम्बन्धी छलफल थियो। प्रधानमन्त्रीज्यूसँग साउन १५ गते अन्तिम ब्रिफिङ गरेर भोलिपल्ट फर्कियौं,’ स्वकीय सचिव बिकले भने।

मन्त्री चुमान पोखरा फर्किएको पर्सिपल्टै मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुखलगायत सहभागी प्रहरीलाई सवारी हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी भएका थिए।

साउन १५ गते बालुवाटारमा प्रहरी समायोजनसम्बन्धी बैठक भएको थियो। उक्त बैठकमा उनले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र अरु ६ प्रदेशका कानुनमन्त्रीलाई भेटेका थिए। बैठक सकेको ३ दिन काठमाडौं बसेर साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए। 

फर्किएपछि जनकपुरमा कोरोना परीक्षण गराएका मन्त्री यादवको संक्रमण पुष्टि भएपछि क्वाटरमा सेल्फ आइसोलेसनमा बसेका छन्। 


Leave a Reply

Your email address will not be published.