पुतलीसडकको कुरूप निर्माण: ११ सय मिटर बनाउन ६ महिना लाग्ने, दोष कोरोना र वर्षालाई

पुतलीसडकको कुरूप निर्माण:  ११ सय मिटर बनाउन ६ महिना लाग्ने, दोष कोरोना र वर्षालाई

सिंहदरबारबाट निस्केका प्रधानमन्त्री पहिले राजाको दरबार जाने, अहिले राष्ट्रपति निवासतर्फ हानिने मूल मार्ग। अनि, न्युरोडपछिको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्र। रत्नपार्क, कमलपोखरीदेखि दरबारमार्गसम्मको आवतजावतलाई थाम्ने ठाउँ। 

पुतलीसडक नपुग्नेका लागि नामैले यो त सौन्दर्यले भरिपूर्ण भन्ने लाग्ला। तर, पाँच महिनादेखिको त्यहाँको बिजोग हेर्ने हो भने राजधानीकै बेइज्जत हुने अवस्था छ। 

पुतलीसडक यतिबेला कि धुलाम्मे हुन्छ कि हिलाम्य। फुटपाथ खोस्रिएका छन्। सडकभर खाल्डैखाल्डा। गाडी गुडेको होइन, नाचेझैं देखिन्छन्। छेउछेउमा माटाका ढिस्का छन्। क्रंक्रिटमा चिप्लेर मोटरसाइकल ढल्यो भने के गति होला? 

२०७६ फागुन १४ गते मूल्य अभिवृद्धि कर (भ्याट) सहित साढे ११ करोड रुपैयाँमा पुतलीसडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो। ठेक्का पाउने पिआर इन्फ्रास्ट्रक्चर प्रालि हो। 

स्तरोन्नतिका नाममा नयाँ पिच र फुटपाथ हाल्नुपर्ने टुकुचामोडदेखि सिटी सेन्टरसम्मको जम्मा १ हजार १ सय मिटरमात्रै। त्यति जाबो पाँच महिना बित्न लाग्दा पनि बनेन। अझै केही महिना नबन्ने छाँट छ। 

र, दुःख पाउँदैछन् सर्वसाधारण। 

लकडाउनका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले केही प्रशंसा बटुले, राजधानीका केही मूलसडकमा नयाँ सेता धर्सा तानेर। 

सवारी ठप्प भई वातावरण धुवाँधुलोरहित हुँदा यसै पनि सडक सफा थिए। तर, पुतलीसडकको दुर्दशाले चाहिँ राज्यको निर्माण क्षमतामाथि सबैभन्दा चोटिलो प्रश्न तेर्स्याइरह्यो। 

सडक डिभिजन कार्यालय काठमाडौंले दिएको पुतलीसडक स्तरोन्नति ठेक्काको म्याद आगामी भदौ १३ सम्म छ। डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मुख्य तथा व्यस्त सडकखण्ड भएकाले लकडाउन अवधिमै काम सम्पन्न गर्ने उद्देश्यले काम सुरु गरेका थिए। अनि, लकडाउन अवधिभित्रै काम सम्पन्न गर्ने लक्ष्य थियो।

तर, लकडाउन टुंगिएको दुई साता बितिसक्यो। पुतलीसडकमा कुनै सुधार भएको छैन। सडकमा ढल र माटो राखी सम्याएर छाडिएको छ, कोही बटुवा त्यहाँ हिँड्दा सफा भएर निस्कन सक्दैन। 

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले लकडाउन अवधिभित्रै काम सम्पन्न गर्ने लक्ष्य भए पनि लगातारको वर्षा तथा मौसमी प्रतिकूलताले समयमै काम गर्न नसकिएको दाबी गरे। 

‘लकडाउनको अवधिमा काम सम्पन्न गर्ने समयसीमा राखे पनि वर्षा तथा महामारीले पारेको असरले समयमा काम गर्न सकेनौं,’ प्रमुख नेपालीले बिहीबार आयोमेलसँग भने,‘सडक निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ, मौसमले साथ दिनेबित्तिकै काम थाल्छौं।’
उनले सडकमा ढल राख्ने, खाल्डाखुल्डी पुर्ने काम सकिएको बताउँदै वर्षा रोकिएपछि काम सुरु गर्ने बताए।

‘लगातार पानी परिरहेकाले काम गर्न समस्या भएको छ। पानीमा पिच गर्न मिल्दैन, पिचबाहेक सडक निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘दसैंभन्दा अघि नै पुतलीसडकको काम सकिन्छ।’

गत वर्ष फागुन दोस्रो साता सडक निर्माण सम्झौता भए पनि अन्तिम साताबाट निर्माण सुरु भएको थियो।

निर्माण कम्पनी पिआर इन्फ्रास्ट्रक्चरका प्रमुख कंसराम महर्जनले कोरोना महामारी, लकडाउन तथा लगातार वर्षाका कारण काम गर्न नसकिएको बताए।

‘कोरोनाको संक्रमण तथा लगातारको वर्षा र अन्य परिस्थितिका कारण काममा ढिला भएको जस्तो देखिएको हो। परिस्थिति सहज हुने बेला नै हामी काम गर्छौं। निर्माण कम्पनीले काम गरिरहेको छ,’ ठेकेदार महर्जनले भने, ‘वर्षातको समयमा पिच गर्न  मिल्दैन। कोरोना तथा वर्षातको मौसम कहाँसम्म जान्छ, त्यसमा भर पर्छ। मनसुन सकिएलगत्तै पिच गर्छौं।’

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले वर्षातको समय भएकाले सडक निर्माणको काममा समस्या भएको भन्दै मनसुन समाप्त भएलगत्तै सडक पिच गरिने दाबी गरे।

‘मनसुन नरोकिएकाले निर्माण कम्पनीले काम गर्न सकेको छैन,’ उनले भने, ‘वर्षात सकिएपछि सडक निर्माणको काम सम्पन्न हुन्छ।’
निर्माण कम्पनीले समय परिस्थिति सहज नभए र वर्षा नरोकिँदासम्म काम सम्पन्न गर्न नसकिने जनाएको छ भने सडक डिभिजन कार्यालयले चाहिँ दसैंभन्दा अघि नै काम सम्पन्न गरिसक्ने जानकारी दिएको छ।

यसरी हेर्दा पुतलीसडकको निर्माण कार्य सम्पन्न हुन अझै डेढ–दुई महिना लाग्ने देखिएको छ।

 


Leave a Reply

Your email address will not be published.