काेभिड अस्पतालमा आगलागी, कोरोनाका आठ बिरामीको मृत्यु

काेभिड अस्पतालमा आगलागी, कोरोनाका आठ बिरामीको मृत्यु

पश्चिमी भारतीय सहर अहमदाबादस्थित कोभिड अस्पतालको सघन उपचार कक्षमा भएको आगलागीमा परेर आठ बिरामीको मृत्यु भएको छ। 

अग्निसमन विभागका वरिष्ठ अधिकारी राजेश भट्टले कर्मचारीको पिपिई किटमा शर्ट सर्किटबाट सुरु भएको आगलागी फैलिएको बीबीसी गुजरातीलाई बताए।

‘भयभित स्टाफहरू क्रिटिकल केयर युनिट वरिपरि दगुर्न थालेपछि आगो फैलियो,’ उनले भने।

प्रहरीले अस्पतालका एक निर्देशकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। 

स्थानीय समयअनुसार घटना बिहान ३ बजे घटेको थियो।

अधिकारी भट्टले आगो एक घण्टा पछि नियन्त्रणमा लिइएको र अस्पतालका ४० अन्य बिरामीलाई अर्को कक्षमा सारेको जानकारी दिए।

उनले आफूलगायत टोलीका अन्य सदस्यहरू कोरोनाका धेरै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा उक्त घटनाबाट आफू दुःखी भएको बताउँदै पीडितका परिवारलाई प्रशासकीय सहयोग प्रदान गरिने बताए। उनी तीनपल्ट गुजरातको मुख्यमन्त्री भएका थिए।

राज्यका वर्तमान मुख्यमन्त्री विजय रुपाणीले पनि ट्वीटमा संवेदना व्यक्त गर्दै अनुसन्धानको आश्वासन दिएका छन्।
यसैबीच, केही पीडितका परिवारले अस्पतालले दमकल विभागलाई फोन गर्न ढिलाइ गरेको र परिवारका सदस्यलाई पनि आगोका बारेमा जानकारी नदिएको आरोप लगाएका छन्।

‘अस्पतालका स्टाफले हामीलाई कुनै पनि जानकारी दिएनन्। आगो कसरी सुरु भयो र के भयो भनेर कसैले भनेको छैन,’ एक व्यक्तिले आफ्नो नाम नबताउने सर्तमा बीबीसीसँग भने।

प्रहरीलाई घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन दिनको समय दिइएको छ। उनीहरूले एउटा दुर्घटनात्मक मृत्युको मुद्दा दर्ता गरी एक निर्देशकलाई हिरासतमा लिएको छ। 
 

–बीबीसीबाट अनुवादित
 


Leave a Reply

Your email address will not be published.