पञ्चासेको विकासका लागि छलफल

पञ्चासेको विकासका लागि छलफल

नेपाल पर्यटन बोर्डले कास्की, पर्वत र स्याङजाका तीन जिल्लाको  सीमानामा रहेको पञ्चासे क्षेत्रको पर्यटन विकास सम्बन्धी छलफल गरेको छ।

गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पञ्चासे क्षेत्रसँग जोडिएका कास्की जिल्लाका पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, पर्वतका मोदी गाउँपालिका र कुष्मा नगरपालिका तथा स्याङजाका आँधीखोला र फेदिखोला गाउँपालिकाका स्थानीय निकाय तथा सरोकारवालाबिच छलफल भएको हो। 

छलफलमा सबै निकायको सहकार्य र समन्वय तथा एक संस्थागत संरचना तयार गर्न, पञ्चासेको गुरुयोजना निर्माण गर्न र स्रोत तथा साधनको परिचालन गरि पञ्चासेलाई केही वर्ष भित्रै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकको केन्द्रका रुपमा विकास गर्ने विषयमा सहमति भएको छ।

२ हजार ५ सय १७ मिटर उचाईमा रहेको पञ्चासे शिखर वरपरको संरक्षित वनमा १ सय १३ प्रजातीका सुनाखरि, ५ प्रकारका लालीगुराँसलगायतका विभिन्न दुर्लभ जडीबुटी र वनस्पति, चितुवा, मृग, बंदेल आदि जनावर पाइन्छन्। यहाँबाट धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाको अलौकिक दृश्य देख्न सकिन्छ। 

नजिकै अवस्थित श्रवण कुमारको समाधी, पञ्चासेको शिखरमा रहेको शिव मन्दिर र भदौरे, आठथर, चित्रे आदि रमणीय गाँउहरू प्रर्यटक तान्ने विश्वास लिइएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धन्नजय रेग्मीले पञ्चासेको प्रचार प्रसार र प्रवद्र्धन गरि केही समय भित्रै सबै पर्यटकहरू एकपटक जानैपर्ने गन्तव्यको रुपमा स्थापति गर्ने र पर्यटकीय सुविधाहरूको विकास गर्न नीजि क्षेत्रलाई समेत आह्वान गरिने बताए।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सभा सांसदहरू राजीव पहारी र मीन गुरुङले पञ्चासे धेरै संभावना बोकेको पर्यटन गन्तब्य भएको बताए।


Leave a Reply

Your email address will not be published.