भदौदेखि हवाई उडान के हुन्छ? सरकारले दियो ‘रेड सिग्नल’

भदौदेखि हवाई उडान के हुन्छ? सरकारले दियो ‘रेड सिग्नल’

सरकारले यसअघि भदौ १ गतेबाट सञ्चालन हुने भनि घोषणा गरेका क्षेत्रमा पुनर्विचार गर्ने संकेत गरेको छ।

साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीका यातायात, आन्तरिक र बाह्य उडानसँगै विद्यालयमा भर्ना खोल्ने निर्णय गरेको थियो। 

तर, कोरोना संक्रमितको संख्या २२ हजार पुग्न लागेको र सरकारले स्थानीय स्तरबाट निषेधाज्ञा जारी गर्न थालेका बेला यसअघिका निर्णयमा पुनर्विचार गर्नसक्ने संकेत गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘भदौ १ गतेदेखि खोल्ने भनिएका क्षेत्रमा पुष्टपोषण भइसकेको छैन, उदार हुनुपर्ने अवस्था आउनसक्छ।’

यद्यपि कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा मन्त्रिपरिषद्बाट निर्णय हुने उनले बताए।

सरकारले काठमाडौं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर, राति हिँडडुलमा रोक लगाइसकेका बेला यसअघिका निर्णय कार्यान्वयनमा ‘रेड सिग्नल’ देखाएको हो।

‘जोखिम बढ्दै छ अतिआवश्यक बाहेक क्षेत्र खोली नहालौं (यातायात, हवाइ उडान) सञ्चालन नगरौं भन्ने आवाज छ। तर, न्यूनतम सेवा सञ्चालन गरेनौं भने आर्थिक रुपमा श्वास फेर्न पनि कठिन हुने सुझाव आएका छन्,’ उनले भने।

मन्त्री खतिवडाले अब चैत ११ गते घोषणा गरेझैं लकडाउन नहुने संकेत पनि गरेका छन्। ‘जहाँ संक्रमण छ त्यहाँ स्थानीय स्तरबाट निषेधज्ञा जारी भइरहेको छ। तर देश नै ठप्प पारेर लकडाउन गर्ने विषयमा सरकारले सोचिसकेको छैन,’ मन्त्री खतिवडाले भने।


Leave a Reply

Your email address will not be published.