संक्रमित मन्त्री भन्छन्- मिलेर कोरोनालाई परास्त गरौं

संक्रमित मन्त्री भन्छन्- मिलेर कोरोनालाई परास्त गरौं

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सबैले मिलेर कोरोना महामारीलाई परास्त गर्नुपर्ने बताएका छन्। एकबाट अर्कोमा सर्ने भएकोले अनुशासनमा बसेरै यसलाई परास्त गर्न सकिने मन्त्री यादवले बताएका छन्।

कोरोना संक्रमण पुष्टि भएका मन्त्री यादवले संक्रमणहुँदैमा आत्तिइनुभन्दा पनि चिकित्सकको सल्लाह सुझावअनुसार सावधानी अपनाउनु पर्ने बताए। ‘मलाई संक्रमण पुष्टि भएको छ, तर आत्तिइहाल्नुपर्ने अवस्था छैन्, म ठीक छु,’ आयोमेलसँग कुरा गर्दै मन्त्री यादवले भने,‘संक्रमण पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण देखिएको छैन्।’

मन्त्री यादवले सरकारी आवासमा होम आइसोलेसनमा बसेको जानकारी दिएका छन्। ‘म आफ्नो निवासमा एउटा कोठामा बसेको छु, सबै सावधानी अपनाइ रहेको छु, स्वास्थ्यमा कुनै समस्या देखिएको छैन्,’ उनले भने।

कहाँ र कसरी संक्रमित भए यसबारे आफू अनभिज्ञ नरहेको मन्त्री यादव बताउँछन्। ‘कहाँ कसरी को बाट संक्रमण भयो मलाई स्वयं थाहा छैन्, भीडभाड हुने जस्ता कुनै कार्यक्रममा सहभागी भएको छुइन्, यहाँसम्म कि पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा समेत म गइन्,’ उनले भने।

काठमाण्डौं गएकोबेला होटलबाट संक्रमण भएको हुनसक्ने उनको आशंका छ। साथै मन्त्रालयका एकजना कार्यालय सहयोगीसमेत संक्रमित भएकोले उनीबाट समेत संक्रमण भएको हुनसक्ने उनले शंका व्यक्त गरेका छन्।

‘प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको सम्मेलनमा सहभागी हुन काठमाण्डौं गएकोबेला ५÷६ दिन होटलमा बसेको थिएँ, त्यहाँबाट पनि संक्रमण भएको हुनसक्दछ,’ उनले भने।

गृह मन्त्रालयले प्रहरी समायोजनसम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजन गरेको सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन उनी काठमाण्डौं पुगेका थिए।

बालुवाटारमा आयोजना भएको सम्मेलनमा विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पूरा गरिएको उनले जनाएका छन्। ‘प्रधानमन्त्री, गृह मन्त्री, प्रहरी प्रमुख सबैजना त्यहाँ उपस्थित हुनुहुन्थ्यो, सामाजिक दूरीको पूर्ण पालना गरिएको थियो,’ उनले थपे,‘व्यक्तिगत भेटघाट कसैसँग भएको छैन्। सम्मेलनमा सबैजनासँग छलफल भएको हो।’


Leave a Reply

Your email address will not be published.